
इटहरी/ आफ्नो पछिल्लो फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रमपछि मिडियामा आएका भ्रामक र व्यक्तिगत हेडलाइनहरूलाई लिएर अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेकी छन् । उनले कार्यक्रम फिल्मको भए पनि फिल्मको नभई आफ्नो व्यक्तिगत जीवन र बोल्न नचाहेका विषयले प्राथमिकता पाएको भन्दै आक्रोश पोखेकी छन् ।
अभिनेत्री राउतले ट्रेलर रिलिजको दिन केही व्यक्तिगत प्रश्नहरूको उत्तर नदिनुलाई ‘मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ’ भन्ने सोचका साथ लिइएको स्पष्ट पारेकी छन् । तर, मिडियामा मौनतालाई फरक अर्थमा प्रस्तुत गरिएको देख्दा उनको मन दुखेको छ । उनले मिडियामा बोल्दा ‘डर लाग्ने’ गरेको भनाइलाई लिएर भएको टीकाटिप्पणीबारे पनि प्रष्ट्याएकी छन् ।

राउतका अनुसार, उनको त्यो डर अहंकार वा दूरी बनाउने चाहना होइन, बरु ‘सरल मनले बोलेको कुरा पनि कहिलेकाहीँ गलत अर्थमा लिएर व्यक्तिगत जीवनमा जोडिन्छ’ भन्ने चिन्ता हो । यही कारणले गर्दा आफू बोल्नुअघि सय पटक सोच्न बाध्य भएको उनले बताएकी छन् । राउतले कार्यक्रमको मुख्य उद्देश्य फिल्म ‘हर्ष’को चर्चा हुनुपर्नेमा व्यक्तिगत र भ्रामक हेडलाइनहरू मात्रै बन्न पुगेकोमा आपत्ति जनाएकी छन् ।
@parikalanewsofficial
उनी भन्छिन्, “कार्यक्रम त चलचित्र ‘हर्ष’ को थियो, तर न चलचित्रले हेडलाइन पायो, न कतै त्यसको उल्लेख भयो। व्यक्तिगत र भ्रामक हेडलाइनहरू मात्र बन्न पुगे ।” उनले कलाकारको सबैभन्दा ठूलो पहिचान उसको काम, उसको मेहनत र उसको सिर्जनशीलता हुनुपर्नेमा जोड दिएकी छन्, नकि व्यक्तिगत जीवनका अनुमानहरू ।
वर्षा राउतले मिडियाले उनको हातमा लागेको पुरानो दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेकोमा पनि खण्डन गरेकी छन् । उनले आफ्नो १०-१५ वर्षअघिका तस्वीरहरू सामाजिक सञ्जाल प्रोफाइलमै रहेको र त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिने बताएकी छन् ।
अन्तमा, उनले फिल्म ‘हर्ष’ आफ्नो सम्पूर्ण टिमको मिहिनेत र मनको भावना भएको भन्दै दर्शकलाई त्यसलाई मनदेखि महसुस गरिदिन आग्रह गरेकी छन् ।














Discussion about this post