इटहरी/ नेपाली पारिवारिक कथामा आधारित फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित विशेष समारोहमा अभिनेत्रीबाट निर्देशक बनेकी एकता पौडेलको डेब्यु निर्देशनमा तयार भएको यस फिल्मको करिब तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले एक परिवारभित्र छोराको विवाहपछि उत्पन्न हुने उतार-चढाव र पारिवारिक सम्बन्धका संवेदनशील पक्षहरूलाई देखाएको छ ।
पछिल्लो समय पारिवारिक कथामा आधारित फिल्मको संख्या घट्दो अवस्थामा रहेको बेला ‘हर्ष’ले दर्शकमाझ पुनः पारिवारिक कथाको स्वाद ल्याउने संकेत दिएको छ । कार्यक्रममा निर्देशक पौडेलले पारिवारिक मूल्य र सम्बन्धमा केन्द्रित विषयवस्तु प्रस्तुत गर्न आफूले यो विधा रोजेको बताइन् ।
उनले भनिन्, “नेपाली फिल्ममा पारिवारिक कथाको कमी महसुस भएकाले मैले यो बाटो रोजेँ ।” पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ अध्ययन गरेकी पौडेलले आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छन् । उनले यसअघि केही छोटा फिल्म निर्देशन गरेकी थिइन् । हेर्नुस् ट्रेलर ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन के. बोकर प्रमुख भूमिकामा छन् । साथै, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको पनि अभिनय रहेको छ ।
फिल्मको छायांकन आलोक शुक्ला, संगीत समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्का, सम्पादन लोकेश बज्राचार्य, र कोरियोग्राफी सुनिल क्षेत्री तथा निर्देशक पौडेल स्वयंले गरेका छन् । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक पौडेलकै लेखन हो ।
@parikalanewsofficial
प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् । फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन् । ‘हर्ष’ आउँदो मंसिर १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको वितरण काफिया फिल्म्स र डिसिएनले गर्नेछ भने डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ ।












Discussion about this post