इटहरी/ बालमनोविज्ञान र विद्यार्थी जीवनका दबाबलाई केन्द्रमा राखी बन्ने नेपाली कथानक फिल्म ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन खुला गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो फिल्मका लागि निर्माण पक्षले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी गरिरहेको जनाएको छ ।
इच्छुकले छोटो भिडियो क्लिप तयार गरी audition4rollno1@gmail.com वा ९८६५११९३११ (WhatsApp) मार्फत पठाउन सक्नेछन् । निर्माणपक्षका अनुसार फिल्मका लागि ७ देखि ८ वर्ष उमेरका ३ जना केटा, ६ देखि ७ वर्षकी १ जना केटी र ११ देखि १२ वर्ष उमेरका २ जना केटा बाल कलाकार आवश्यक छन् । उनीहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने उल्लेख गरिएको छ ।
प्राप्त भिडियोबाट छनोटमा परेकाहरूलाई अन्तिम अडिसनका लागि बोलाइनेछ । गत वर्ष नै यो फिल्मको घोषणा र फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको बालकले हात उठाउँदै आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देखिन्छ, जसले फिल्म बालमनोविज्ञानसँग सम्बन्धित रहेको सन्देश दिन्छ ।
फिल्मको कथा विद्यार्थीमाथि देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि घुम्ने जनाइएको छ । निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “सबैलाई नजिते, इज्जतै पाउँदैन रे । गन्तीमै आउँदैन रे । अरु सबै मुर्ख अरे एउटै विद्वान-रोल नं. वान… रोल नं. वान…”
@parikalanewsofficial
उनको यो अभिव्यक्तिले फिल्मले प्रतिस्पर्धात्मक समाजका कारण बालमस्तिष्कमा पर्ने मानसिक दबाब र त्यसको प्रभावलाई गहिराइपूर्वक प्रस्तुत गर्ने संकेत गर्छ । ‘रोल नं. १’ मा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा–संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य राखिएको छ । सेभेन सिज सिनेमाको अर्को प्रस्तुति ‘अभिमन्यु : च्याप्टर–१’ पनि प्रदर्शनको तयारीमा रहेको छ ।












Discussion about this post