इटहरी/ पछिल्लो समय जेनजी आन्दोलनलाई उक्साएको, आगजनीमा संलग्न भएको जस्ता आरोप-प्रत्यारोप लगाउँदै फिल्मकर्मीहरु माथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिन थालेका छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेत यो झमेलामा मुछिएसंगै अर्का अभिनेता तथा निर्माता दीपक राज गिरी पनि यो लहरामा देखिएका छन् । उनको पनि सामाजिक सञ्जालमा यो आन्दोलनलाई लिएर विरोध हुन थालेपछि उनले सामाजिक सञ्जालबाटै एक स्ट्याटस पोष्ट्याएर स्पष्टीकरण दिएका छन् ।
गिरीले ‘जेनजी आन्दोलन’लाई समर्थन गरेको भए पनि यस क्रममा भएको तोडफोड र आगजनीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् । भ्रष्टाचार र सुशासनको माग गर्दै भएको जेनजी आन्दोलनको समर्थन गरेको विषयमा आफ्नो फोटो प्रयोग गरी भ्रम फैलाइएपछि एक जिम्मेवार नागरिकको रूपमा बोल्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।
गिरीले नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई आफूले समर्थन गरेझैँ जेनजी आन्दोलनलाई पनि समर्थन गरेको स्वीकारेका छन् । उनले भनेका छन्, “यदि त्यो अपराध हो भने अपराध त भयो नै…”। यद्यपि, उनले तोडफोड र आगजनीको घटनामा आफ्नो कुनै सहभागिता नरहेको दाबी गरेका छन् ।
आन्दोलनका क्रममा बानेश्वरमा तोडफोड भइसकेको एउटा घरको बाटोमा हिँडिरहेको आफ्नो तस्बिर सार्वजनिक भएपछि उनले स्पष्टीकरण दिएका हुन् । उनले गणेश कार्कीले बोलाएपछि सर्वपक्षीय भेलामा जान हिँडेको र बाटोमा भेटिएको तोडफोड भएको घरमा केही मानिसहरूले रमिता हेरिरहेको र आफूलाई देखेर फोटो खिचेको मात्रै सत्य भएको बताएका छन् ।
@parikalanewsofficial
सो तस्बिरलाई लिएर ‘आफ्नै शैलीको राम्रो कथा’ बुनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । छलफलमा गएपछि तोडफोड र आगजनी सुरु भएको र त्यसपछि आफूले ‘तोडफोड नगरौँ’ भन्दै भिडियो तथा स्ट्याटसहरू पोस्ट गरेको र ती साक्षीको रूपमा सुरक्षित रहेको गिरीले जनाएका छन् । उनले आन्दोलन एउटा पाटो भएको र आगजनी तथा विध्वंस अर्को पाटो भएको बताउँदै दोस्रो पाटोमा दलहरूकै मान्छे लगायत अन्य स्वार्थ समूह छिरेको प्रमाणित भइसकेको उल्लेख गरेका छन् ।
गिरीले आफू कुनै समूहमा आबद्ध नभएको कलाकार भएको र देशमा भएको त्यो तोडफोड र आगजनीमा आफ्नो सहभागिता नभएको दोहोर्याएका छन् । यदि आफ्नो संलग्नता प्रमाणित भएमा हदैसम्मको कारबाहीका लागि तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि जेनजी आन्दोलनलाई समर्थन गरेपछि ठूला दलका कार्यकर्ताबाट आफूलाई धम्की आउन थालेको भन्दै गिरीले सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।














Discussion about this post