इटहरी/ अभिनेता दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको प्रतिक्षित फिल्म ‘वरिष्ठ बलराम’ले आफ्नो अग्रिम बुकिङ खुल्ला गरेको छ । यो फिल्म भोलि अर्थात् कात्तिक ६ गते भाइटीकाको दिनदेखि रिलिज हुन लागेको यस फिल्मले रिलिजअघि नै दर्शकमाझ उत्साह जगाउन सफल भएको छ । मल्टिप्लेक्सदेखि सिंगल हलसम्म फिल्मले राम्रो शो र सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ ।
बलिउडका ठूला फिल्म र अन्य नेपाली फिल्मको भिडबीच पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको निर्देशक सुरेन्द्र पौडेलको भनाइ छ । ट्रेलर र ‘न्याउली बनैमा’ गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएका कारण फिल्मले पनि सकारात्मक वर्ड अफ माउथ पाउने विश्वास निर्देशक पौडेलको छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्मसको सहकार्यमा तयार भएको यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ । साथै, सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, प्रदिप ढकाल, रौनक सिंहलगायत कलाकार पनि समावेश छन् । फिल्ममा सुजेन थापा र साइसा गौचन बाल कलाकारका रूपमा छन् । कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन् ।
@parikalanewsofficial
छायांकन मनकृष्ण महर्जन, संगीत प्रशान्त शिवाकोटी, एक्सन निर्देशन सम्राट बस्नेत र नृत्य निर्देशन प्रदीप लामाको रहेको छ । फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् भने प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता हुन् । राम विष्ट लाइन प्रोड्युसरका रूपमा रहेका छन् । ‘वरिष्ठ बलराम’लाई काठमाडौं उपत्यकाभित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ ।














Discussion about this post