इटहरी/ मानवीय संवेदनालाई परिवारका धागोहरूसँग गाँस्दै तयार गरिएको नेपाली फिल्म ‘धागो’ले आफ्नो दोस्रो गीत ‘मेरो सम्झना’ सार्वजनिक गरेको छ । शुक्रबार रिलिज गरिएको यो गीतले फिल्मको भावनात्मक पक्षलाई उजागर गर्दै बिछोड, सम्झना र सम्बन्धका नाजुक भावनालाई सजीव रूपमा प्रस्तुत गरेको छ । गीतमा पुष्पन प्रधानको संगीत र स्वर सुन्न सकिन्छ, जहाँ उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन् ।
गीतका शब्द र धुनले एकअर्कासँग गाँसिएका भावनात्मक सम्बन्धको गहिराइ महसुस गराउँछन् । सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सुरक्षा पन्त र प्रभात थापा बीचको संवेदनशील कथा चित्रण गरिएको छ, जसले परिवारभित्र सम्बन्ध कमजोर हुँदा उत्पन्न हुने मनोवैज्ञानिक अवस्थालाई स्पर्श गर्छ । उदिप राणा थापाको निर्देशनमा बनेको ‘धागो’ आगामी कार्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । हेर्नुस भिडियो
म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माता छन् भने प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् । अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन् । फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रका नेपाली परिवारहरूको सांस्कृतिक सम्बन्ध र भावनात्मक जीवनकथालाई मुख्य विषय बनाएको छ । सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ र पप्पु विश्वकर्मा लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
अभिनेत्री वर्षा राउतले फिल्ममा विशेष केमियो भूमिका निर्वाह गरेकी छिन् । फिल्मको छायाङ्कन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, र कोरियोग्राफीमा कविराज गहतराज र बसन दर्जी छन् । निर्मल पन्याले फिल्मको ब्याकग्राउण्ड स्कोर तयार पारेका छन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने आरआर फिल्म्सले नेपालमा वितरण गर्नेछ । ‘धागो’ले सम्बन्ध, संवेदना र पारिवारिक माया-ममता बीचको अदृश्य बन्धनलाई पर्दामा भावनात्मक ढंगले गाँस्ने अपेक्षा गरिएको छ ।















Discussion about this post