इटहरी/ चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका १७८ जना फिल्मकर्मीहरूलाई आज शुक्रबार एक विशेष समारोहबीच सम्मानपूर्वक ‘चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ । बोर्डमा आयोजित एक कार्यक्रमका बीच विभिन्न विधाका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूलाई परिचयपत्र प्रदान गरियो । यो परिचयपत्रले फिल्मकर्मीहरूको पेशागत पहिचानलाई औपचारिक मान्यता दिएको छ ।
बोर्डले परिचयपत्र वितरणसँगै फिल्मकर्मीहरूको सामाजिक सुरक्षामा महत्त्वपूर्ण कदम चालेको छ । परिचयपत्र प्राप्त विशिष्ट फिल्मकर्मीहरूका लागि बोर्डले वार्षिक रु. १ लाख ५० हजार बराबरको स्वास्थ्य उपचार बीमा र सामान्य फिल्मकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा पनि सुरु गरेको छ । यो सुविधाले फिल्मकर्मीहरूको स्वास्थ्य सुरक्षा र कल्याणमा ठूलो टेवा पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ ।
कार्यक्रममा परिचयपत्र प्राप्त गरेपछि फिल्मकर्मीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले यो परिचयपत्रले आफ्नो व्यावसायिक पहिचान, सम्मान र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रमले फिल्मकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न एक महत्त्वपूर्ण कदम भएको बताएका छन् ।
@parikalanewsofficial
यो पहलले फिल्मकर्मीहरूको कानुनी सुरक्षा, सरकारी सेवामा पहुँच र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै, यसले फिल्मकर्मीहरूको तथ्याङ्क (डेटाबेस) निर्माण गर्न र फिल्म उद्योगको व्यवस्थापनलाई आधुनिकीकरण गर्न पनि मद्दत गर्ने बोर्डले जनाएको छ । परिचयपत्र प्राप्त गरेसँगै फिल्मकर्मीहरूले सामाजिक सुरक्षा योजनाहरूमा सहभागी हुन, फिल्म निर्माण र छायांकनमा सहजता प्राप्त गर्नका लागि महत्त्वपूर्ण आधार तयार भएको महसुस गरेका छन् ।















Discussion about this post