इटहरी/ फिल्मको प्रचार नयाँ ढङ्गले गर्ने हेतु सहित कार्तिक ६ अर्थात् भाइटीका देखि रिलिज हुने फिल्म ‘सोल्टिनी’को टिम देउसी-भैलो कार्यक्रमसहित देशव्यापी भ्रमणमा निस्कने भएको छ । मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बू लगायतको टिमले आफ्ना दर्शक तथा शुभचिन्तकहरूसँग नजिक हुने उद्देश्यले यो विशेष भ्रमणको आयोजना गरेको हो ।
‘सोल्टिनी’ टिमले कार्तिक २ गतेदेखि लगातार ४ दिनसम्म फरक-फरक शहरमा देउँसी-भैलो खेल्ने तालिका सार्वजनिक गरेको छ । टिमले सार्वजनिक गरेको जानकारी अनुसार, उनीहरूले आफ्नो तिहार भ्रमण कोशी प्रदेशको दमकबाट सुरु गर्नेछन् । टिमको पहिलो भेटघाट कार्तिक २ गते दमकमा हुँदैछ । दिउँसो २ बजे गोर्खा डिपार्टमेन्ट स्टोरको ग्राउन्डमा देउँसी-भैलो खेलेपछि सोही दिन राति ८ बजे उनीहरू दमक मधुमल्ला महोत्सवमा सहभागी हुनेछन् ।

दमकको कार्यक्रमको आयोजना याक्थुङ फिल्म मेकर्स एसोसिएसन प्रदेश १ कार्यसमितिले गर्नेछ । दोस्रो दिन कार्तिक ३ गते ‘सोल्टिनी’ टिम धरान पुग्नेछ । त्यहाँ दिउँसो २ बजे किराँत याक्थुङ चुम्लुङ भवन, धरानमा धेउसी तथा भेटघाट कार्यक्रम तय गरिएको छ । धरानको कार्यक्रमको आयोजक किराँत याक्थुङ चिम्लुङ रहेको छ । कार्तिक २ गते नै इटहरीमा पत्रकार भेट्घाट गर्ने योजना फिल्म युनिटको रहेको छ ।
यस्तै टिम तेस्रो दिन कार्तिक ४ गते पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पुग्नेछ । त्यहाँ धेउसि-भैलो खेरलेर सोल्टिनी टीम चौथो तथा अन्तिम दिन कार्तिक ५ गते काठमाडौँमा धेउसि-भैलो तथा सांगीतिक कार्यक्रम तय गरिएको छ । यद्यपि, पोखरा र काठमाडौँको कार्यक्रमको समय र निश्चित स्थान भने खुलाइएको छैन । सामाजिक यथार्थ र अन्तरजातीय प्रेमबीचको संघर्षलाई पर्दामा उतार्ने तयारीमा रहेको यो फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् ।
@parikalanewsofficial
यो फिल्मको कथा लेखनमा निर्देशक सुवेदी स्वयं र कुमार भट्टराईको सहकार्य रहेको छ । फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न सकिन्छ । सोल्टिनी लाई रेजिना विष्ट र संसार चौलागाईंले निर्माण गरेका हुन् भने फिल्ममा सहायक निर्माताको रुपमा रोशन चौलागाईं, वसन्त कटवाल र सुजन अधिकारी रहेका छन् । फिल्मलाई प्लानेट थ्री फिल्म र योलो इन्टरटेन्मेन्ट व्यानरमा निर्माण गरिएको हो ।















Discussion about this post