इटहरी/ लोकप्रिय गायक कथा संगितकारबाट फिल्म निर्देशक तथा निर्माताको रुपमा होमिएका टंक बुढाथोकीले आफ्नो आगामी फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा मुख्य कलाकार अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झा लगायतका कलाकारलाई समावेश गरिएको छ ।
यसअघि सार्वजनिक पोस्टरमा भने केवल बाल कलाकार अशोक दर्जीलाई मात्र देखाइएको थियो । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मको कथा स्वयं टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन् । फिल्म कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । फिल्मकी निर्माता विष्णु माया मैनाली हुन् भने सपना शर्मा कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

त्यसैगरी जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सह-निर्माताको रूपमा छन् । ‘मन बिनाको धन’ नामसँग जोडिएको कारणले दर्शकमाझ रुचाइएका अशोक दर्जीले यही गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । टंक बुढाथोकीकै संगीत रहेको यो गीतले दर्जीलाई देशव्यापी पहिचान दिलाएको थियो । हाल उनी टंककै घरमा बसेर काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
@parikalanewsofficial
फिल्ममा अशोक दर्जीका साथै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापा, विनय अधिकारीलगायत धेरै कलाकारले अभिनय गरेका छन् । फिल्मको छायांकन सौरभ लामाले, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले, सम्पादन मित्र डी. गुरुङले र मुख्य सहायक निर्देशन नवराज शर्माले गरेका छन् । फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन् ।















Discussion about this post