
इटहरी/ आफ्ना हरेक प्रस्तुतिले स्टेज तताउने र देश विदेशका स्टेज कार्यक्रमहरुमा सर्वाधिक रुचाइएका लोकप्रिय गायक दुर्गेश थापा डेढ महिने लामो साङ्गीतिक भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । मङ्गलबार साँझ करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थापाले अमेरिकाका ११ विभिन्न सहरमा आफ्ना प्रस्तुति दिनेछन् । यो उनको पहिलो अमेरिका भ्रमण हो, जसले गर्दा त्यहाँका नेपाली समुदायमाझ ठूलो उत्साह छाएको छ ।
थापाको यो सांगीतिक टुर आगामी शुक्रबार, अक्टोबर १७ मा टेक्ससको अस्टिनबाट सुरु हुँदैछ । यो साङ्गीतिक यात्रा नोभेम्बर २२ मा टेक्ससकै डल्लासमा पुगेर समापन हुनेछ । यस अवधिमा उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका ११ फरक-फरक स्थानमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । कलाकार दुर्गेश थापाले पहिलो पटक अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिन पाउनुलाई निकै खुसीको विषय बताएका छन् ।

उनले दर्शकहरूलाई आफूलाई सहज हुने स्थानका कार्यक्रममा उपस्थित भई आफू र आफ्नो समूहलाई साथ दिन आग्रह गरेका छन् । थापाले यस भ्रमणमा आफ्ना पछिल्लो समयका चर्चित गीतहरू ‘दुस्मन हेरेको हेरेई’ र ‘जाने भए जाममाया’ लगायतका थुप्रै लोकप्रिय गीतहरू प्रस्तुत गर्ने जानकारी दिए । यसैगरी, नोभेम्बर १ मा भर्जिनियामा हुने विशेष कार्यक्रममा दुर्गेश थापासँगै अर्की चर्चित गायिका मेलिना राईको पनि विशेष प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ ।
@parikalanewsofficial
यो भव्य साङ्गीतिक ‘टुर’ को आयोजना आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे) र एकेबी कम्पनी एलएलसी (आशिष भडेल) ले संयुक्त रूपमा गरेका हुन् । गैर-नाफामुखी संस्था ‘पिस एन्ड ब्युटी’ ले यसमा साझेदारी गरेको छ । आयोजक मध्येका एक रोशन पुरीले थापालाई पहिलो पटक अमेरिकी नेपाली समुदायमाझ ल्याउन पाउनुलाई खुसीको क्षण भन्दै, यसलाई केवल साङ्गीतिक कार्यक्रम मात्र नभई फरक-फरक ठाउँमा रहेका नेपालीहरूलाई जमघट गराउने अवसरका रूपमा व्याख्या गरेका छन् ।















Discussion about this post