
इटहरी/ नेपालको फिल्म इतिहासमा पहिलो साइन्स फिक्सन जनराको फिल्मको रुपमा प्रतिक्षित ‘एक्लो : वान’ ले आफ्नो प्रदर्शन मिति तोक्दै पहिलो गीत सार्वजनिक गरेको छ । यो फिल्म निर्माण पक्षले आगामी पुष १७ गते (जनवरी १) लाई प्रदर्शन मिति घोषणा गर्दै मंगलबार राती ‘एक्लै बाँच्नु खुरु खुरु’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा फिल्मकी मुख्य अभिनेत्री कविता नेपालीले आकर्षक र जीवन्त नृत्य प्रस्तुत गरेकी छन् । भिडियोमा उनलाई अभिनेता सागर रानाले साथ दिएका छन् ।गीतमा चर्चित लोकगायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ । स्वप्निल शर्माको शब्द रचना तथा रोहित शाक्यको संगीत रहेको यस गीतले महिलाको बह र एक्लोपनको गहिरो भाव प्रस्तुत गरेको छ ।

भान्साको पीडादेखि जीवनको उतारचढाव समेटिएको गीतले रुनुको सट्टा एक्लै आत्मविश्वासका साथ बाँच्नका लागि प्रेरणा दिन्छ । संगीत र भावका कारण यो गीत पछिल्लो समय बजारमा आएका अन्य फिल्मका गीतभन्दा पृथक र विशेष देखिएको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा तयार भएको यो महत्वकांक्षी फिल्ममा अभिनेत्री कविता नेपालीको साथमा अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा छन् । हेर्नुस् भिडियो ।
अभिनेता खड्का यो फिल्मको निर्माताको रुपमा समेत आवद्ध भएका छन् । यी २ सँगै फिल्ममा विजय लामा, सुनिल थापा, बेनिशा हमाल, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
साथै, बेलायती अभिनेता जेमी बेकनले पनि फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन् । एनआरएन समूहको लगानी रहेको ‘एक्लो : वान’ को कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा बाबु श्रेष्ठको छायांकन तथा रुपेश गुरुङको सम्पादन रहेको छ । नेपाली फिल्म बजारमा नयाँ प्रयोगका रुपमा हेरिएको यस फिल्मको चर्चा अन्तर्राष्ट्रिय स्तरमा पनि भइसकेको छ । गत मे महिनामा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको ‘एक्लो : वान’ ले अन्तर्राष्ट्रिय बजारमा राम्रो चासो र चर्चा पाएको छ ।
@parikalanewsofficial















Discussion about this post