इटहरी/ हिन्दू नेपालीहरुको दोश्रो महान पर्व तिहार नजिकिएसँगै नेपाली फिल्म ‘सोल्टिनी’ युनिटले नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ । आउँदो कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने तयारीमा रहेको यो फिल्मको गीतले प्रेम, पीडा र सामाजिक यथार्थको भावनात्मक संगम प्रस्तुत गर्छ ।
लिरिकल ढङ्गमा तयार गरिएको ‘नौलाख तारा’मा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ । शब्द र सङ्गीत पनि सिवाकोटीकै हुन् भने देवेश राईले सङ्गीत संयोजन गरेका छन् । गीतमा समावेश दृश्यहरूले फिल्मका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेमकथामा आउने पारिवारिक र सामाजिक अड्चनलाई कलात्मक रूपमा चित्रण गरेका छन् । हेर्नुस् गीत ।
अर्जुन सुवेदी निर्देशित ‘सोल्टिनी’मा प्रकाश र परीक्षासँगै सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि सशक्त अभिनय देख्न सकिन्छ । फिल्मका कार्यकारी निर्माताका रूपमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ संलग्न छ ।
@parikalanewsofficial
इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन गरिएको ‘सोल्टिनी’ले समाजमा अझै विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अवरोधहरूविरुद्धको सशक्त सन्देश दिन खोजेको निर्देशक सुवेदीले बताएका छन् ।














Discussion about this post