इटहरी/ नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक रोमाञ्चक, भावनात्मक कथा र प्राविधिक उत्कृष्टताको संगम ल्याउँदै ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा रहेको छ । यही आउँदो तिहारको माहोलसँगै असोज ३१ गते देखि दर्शकमाझ आउन लागेको यो बहुप्रतिक्षित फिल्म युनिटले बिहीबार काठमाडौंमा एक भव्य समारोहमार्फत आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ ।
सार्वजनिक ट्रेलरले सगरमाथा आरोहणको साहसिक यात्रालाई त्रिकोणात्मक प्रेमकथासँग जोडेर प्रस्तुत गर्दै फिल्मको भावनात्मक र दृश्यात्मक गहिराइलाई दर्शक सामु प्रभावकारी ढङ्गले उतारेको छ । करिब चार मिनेट लामो यो ट्रेलरमा सगरमाथाको हिउँले ढाकिएका शिखर, जोखिमपूर्ण आरोहणका दृश्य र प्रेममा गुज्रिएका भावनात्मक उतारचढावले दर्शकलाई गहिरो प्रभाव पार्ने संकेत देखाएको छ ।
ट्रेलर अनुसार, फिल्मका नायक जेरी (अनमोल केसी) ले आफ्ना पितालाई हराउने बाल्यकालीन सपना पूरा गर्न सगरमाथा आरोहणको लक्ष्य लिन्छन् । आरोहणका क्रममा उनले भोग्ने संघर्ष, आत्मबल र प्रेमबीचको द्वन्द्वलाई फिल्मको मूल भावनाका रूपमा प्रस्तुत गरिएको छ । साथमा आँचल शर्मा र जसिता गुरुङको प्रेमपात्रहरूको उपस्थिति कथालाई थप जीवन्त र रोमान्टिक बनाएको छ । हेर्नुस् ट्रेलर ।
फिल्ममा भुवन केसी, केदार घिमिरे माग्नेबुढा, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । निर्देशन सुयोग गुरुङको रहेको यो फिल्मलाई सरोज न्यौपाने (अनन्या फिल्म्स) ले निर्माण गरेका हुन्, जहाँ उनलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सहकार्य गरेका छन् । कार्यकारी निर्माता अनुराधा गिरी र ईश्वर श्रेष्ठ हुन् ।
@parikalanewsofficial
दुलिप रेग्मीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीतले फिल्मलाई प्राविधिक दृष्टिले पनि बलियो बनाएको छ । साथै, हेमराज बिसीको कथा, विस्वास तिम्सिनाको पटकथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन र किरण थापाको कोरियोग्राफीले ‘जेरी अन टप’ लाई सम्पूर्ण मनोरञ्जनको प्याकेजमा परिणत गरेको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह र कौतुहलता दुवै बढेको छ भने युट्युब ट्रेण्डिङ मा समेत उक्लिएको छ ।














Discussion about this post