इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’को दोस्रो संस्करण अब ग्राण्ड फिनालेको संघारमा पुगेको छ । यस प्रतियोगिताकी फाइनल प्रतिस्पर्धी कविना पोख्रेलले विवाहपश्चात् महिलाले भोग्ने समस्या र संघर्षबारे आफ्ना अनुभवहरू सार्वजनिक गरेकी छिन् ।
रामधुनीकी कविनाले विवाहलाई महिलाका लागि ‘नदेखिने पिंजडा’ जस्तै रहेको बताएकी छन् । उनले भनिन्, “म त आठ वर्षसम्म घरभित्रै यसरी बाँधिएछु कि आफैंलाई नै बिर्सिएँ । बच्चैदेखि राम्रो गायिका बन्ने चाहना थियो तर घरको जिम्मेवारी निभाउँदा निभाउँदै त्यो सपना पनि बिर्सिएछु।” उनको यो भनाइले धेरै विवाहित महिलाहरूको गुम्सिएको पीडालाई बाहिर ल्याएको छ ।
ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यो प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । आयोजक संस्थाका सञ्चालक सरोज श्रेष्ठका अनुसार केही समयदेखि देशमा आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै समस्या परिरहेको छ ।

प्रतियोगितामा २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर ११ जना प्रतिस्पर्धीहरू फाइनलमा पुगेका छन् । कविना पोख्रेलसहित फाइनलमा पुग्ने अन्य प्रतिस्पर्धीहरूमा सृजना लिम्बू (मोरङ), सीमा लकान्द्री (इटहरी), अर्चना सिटौला (रंगेली, मोरङ), समिता राई (इटहरी), परिना राई (खोटाङ), रईसा चौधरी (दुहवी, सुनसरी), सिता पूरी (इटहरी), मेघा खड्का (इटहरी), अनुशा कुँवर (इटहरी), उर्मिला मगर (इटहरी) रहेका छन् ।
@parikalanewsofficial
प्रतिस्पर्धीहरूलाई हाल र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा प्रशिक्षण दिइएको छ । कोरियोग्राफीको जिम्मा शुभेक्षा कार्कीले सम्हालेकी छिन् । कविना पोख्रेलले केही साताअघि सम्पन्न ट्यालेन्ट राउण्डमा गायन कला प्रस्तुत गरेर आफ्नो बाल्यकालको सपनालाई एकपटक फेरि दर्शकमाझ ल्याएकी थिइन् । उनको प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।
यस विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन, जसले गर्दा यो महिलाहरूको आत्मविश्वास र क्षमता प्रदर्शन गर्ने एक समावेशी मञ्च बनेको छ । प्रतियोगिताको विजेताले १ लाख बराबरको पुरस्कारसहित अन्य आकर्षक उपहारहरू प्राप्त गर्नेछन् । ‘मिसेस पूर्वेली आइकन’ दोस्रो संस्करणको ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमै हुने आयोजकले जानकारी दिएको छ ।















Discussion about this post