इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै धेरैको मानसपटलमा र्याम्प, क्राउन र चम्किलो मुस्कान आउँछ । तर, ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणकी फाइनल प्रतिस्पर्धी अर्चना सिटौलाको कथा त्यो चम्किलो पर्दा पछाडिको तीतो यथार्थसँग जोडिएको छ ।रंगेली, मोरङकी अर्चनाको ठूलो सपना थियो-स्टाफ नर्स पढ्ने । तर, जीवनको मोडले उनलाई ९ कक्षा पढ्दै गर्दा विवाहको बाटोमा डोर्यायो ।
“मेरो स्टाफ नर्स पढ्ने ठूलो रहर थियो, तर ९ कक्षा पढ्दै मेरो विवाह भयो । सो बेला त्यसलाई पूरा गर्न सकिनँ, परिवारको माहौलमै सीमित भयो,” सिटौलाले आफ्नो अधुरो सपनाबारे खुलस्त पारिन् । उनले विवाहित महिलाले समाजमा सामना गर्नुपर्ने दबाबलाई पनि औंल्याइन् । सिटौला भन्छिन्, “विवाहित महिला भैसकेपछि हामी समाजदेखि कसैले केही भन्ला कि भनेर डराउनु पर्छ ।”
आफ्नो निजी जीवनमा धेरै वर्षसम्म छोराछोरी र परिवारको लागि मात्र सोचिरहेको अनुभव सुनाउँदै उनले थपिन्, “विवाहपछि आफ्नो लागि भन्दा पनि छोरा–छोरीको लागि सोच्नुपर्छ भन्ने भयो । त्यसैले आफ्नो लागि समय निकाल्न सकिएन ।” यिनै अनुभवहरूलाई पार गर्दै उनले हाल आएर आफूलाई यो सौन्दर्य र महिला सशक्तिकरणको मञ्चमा उभ्याएकी छिन्, जहाँ उनले ट्यालेन्ट राउण्डमा आकर्षक नृत्य समेत प्रस्तुत गरिसकेकी छिन् ।

विवाहित महिलाहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्य बोकेको यस प्रतियोगिताले यस वर्ष ११ जना प्रतिस्पर्धीहरूलाई फाइनलमा उभ्याएको छ । आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठले देशमा आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न कठिनाइ भएको बताउँदै अब भने सम्पूर्ण कार्य सकेर फाइनलको तयारीमा केन्द्रित रहेको जनाएका छन् ।
फाइनलमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर, उर्मिला मगर रहेकी छन् । यी प्रतिस्पर्धीहरू २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर आएका हुन् ।
@parikalanewsofficial
कोरियोग्राफर शुभेक्षा कार्कीको निगरानीमा उनीहरूलाई र्याम्प वाक, बोल्ने कला र बौद्धिक सिपमा तालिम दिइएको छ । उचाइ वा मोटाइको कुनै सीमा नतोकिएको यो प्रतियोगिताको विजेताले १ लाख बराबरको पुरस्कारसहित अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् । ‘मिसेस पुर्बेली आइकन’को ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमै हुने तय भएको छ ।














Discussion about this post