इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणकी फाइनल प्रतिस्पर्धी समिता राईले महिलाको क्षमता र आत्म-विकासबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले महिलाहरू घरभित्र मात्र सीमित नभई आफ्नो रहर र क्षमतालाई बाहिर ल्याउनु जरुरी रहेकोमा जोड दिएकी छन् । नारीहरूले आफ्नो लागि पनि समय छुट्याउनुपर्ने उनको भनाइ छ ।
समिताले महिलाको आत्म-विकासका लागि पारिवारिक सहकार्य र समर्थन उत्तिकै महत्त्वपूर्ण हुने बताइन् । “श्रीमतीले गर्न खोजेको कुरालाई श्रीमानले सपोर्ट गर्नुपर्छ,” उनले भनिन्, “श्रीमानले श्रीमतीको इच्छा पूरा गर्न हौसला प्रदान गर्नुपर्छ।” यसरी आपसी समझदारीले मात्र महिलाले अगाडि बढ्ने अवसर पाउने उनको धारणा छ । आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठका अनुसार नेपालमा केही समयदेखि आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै कठिनाइ भइरहेको छ ।
यद्यपि, ‘मिसेस पुर्बेली आइकन’को सम्पूर्ण कार्य सम्पन्न भइसकेको र अब फाइनल चरण मात्र बाँकी रहेको उनले बताए । यो प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । केही साताअघि सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धी समिता राईले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । डिजिटल र फिजिकल अडिसनको २ चरण पार गरेर ११ जना प्रतिस्पर्धीहरू फाइनलमा पुगेका छन् ।

फाइनल पुग्नेहरूमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर छन् ।
@parikalanewsofficial
हाल प्रतियोगीहरूलाई र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा प्रशिक्षक शुभेक्षा कार्कीको कोरियोग्राफीमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । विवाहित महिलाहरूको यो प्रतियोगितामा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन । विजेताले १ लाख बराबरको पुरस्कारसहित अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमै हुने आयोजकले जानकारी दिएको छ।














Discussion about this post