इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य र सशक्तिकरणको मञ्च ‘मिसेस पुर्बेली आइकन दोस्रो संस्करण’ को ग्राण्ड फिनालेको तयारी तीव्र भइरहेको छ । यस प्रतियोगिताकी फाइनल प्रतियोगी परिना राईले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै आफ्ना सपना र सन्तानको सफलतामा पाइरहेको खुसी व्यक्त गरेकी छन् । खोटाङकी परिना राईले सानै उमेरमा ‘लभ म्यारिज’ भएको कारण विवाहअघि करिअर वा ठूला सपना देख्ने मौका नपाएको बताइन् ।
तर, विवाहपछिको जीवनमा भने उनले आफ्ना सपनाहरू देख्दै त्यसलाई पूरा गर्ने बाटोमा हिँडिरहेको अनुभव सुनाएकी छन् । परिनाका अनुसार, उनले आफूले नगरेका कामहरू जब आफ्ना सन्तानले पूरा गर्छन् र विभिन्न अवार्ड जितेर ल्याउँछन्, तब उनलाई सबैभन्दा ठूलो खुसी मिल्छ । उनले भनिन्, “आफ्नो सपना देख्ने अवसर नमिले पनि सन्तानको सपनाले मलाई ठूलो सन्तोष र खुसी दिन्छ।”
उनले सबै महिलाहरूलाई परिवारबाट समर्थन नहुन सक्ने अवस्थामा पनि आफ्नो सोच र सपना पूरा गर्नका लागि दृढतापूर्वक लागिपर्नु पर्ने सन्देश दिएकी छन् । मिसेस पुर्बेली आइकनको ट्यालेन्ट राउण्डमा उनले ‘आमा’ शीर्षकमा भावपूर्ण कविता प्रस्तुत गरेकी थिइन् । आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठ ले केही समयदेखि नेपालमा आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै कठिनाइ भइरहेको जानकारी दिएका छन् ।

तर, सबै चुनौती पार गर्दै हाल प्रतियोगिताको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र अब ग्राण्ड फिनालेको तयारी मात्र बाँकी रहेको आयोजकले जनाएको छ । यो प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने महत्त्वपूर्ण उद्देश्य राखेको छ । प्रतियोगिताको डिजिटल र फिजिकल गरी दुई चरणको अडिसन पार गरेर ११ जना प्रतिस्पर्धीहरू फाइनलमा पुगेका छन् ।
@parikalanewsofficial
फाइनलमा पुग्नेहरूमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर रहेका छन् । हाल प्रतियोगीहरूलाई र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिप शुभेच्छा कार्कीको कोरियोग्राफीमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको यो प्रतियोगितामा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन, जसले गर्दा सबै वर्गका विवाहित महिलाहरूलाई प्रोत्साहन मिलेको छ । प्रतियोगिताकी विजेताले १ लाख बराबरको पुरस्कारसहित अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् ।
मिसेस पुर्बेली आइकनको ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमा हुने आयोजकले जानकारी दिएको छ ।















Discussion about this post