इटहरी/ विवाहित महिलाहरूको सौन्दर्यलाई उनीहरूको सशक्तिकरण र बौद्धिक सीपसँग जोड्ने उद्देश्यका साथ आयोजित ‘मिसेस पुर्बेली आइकन दोस्रो संस्करण’ को फाइनल नजिकिँदै गर्दा यसकी एक प्रमुख प्रतिस्पर्धी रईसा चौधरीले विवाहपश्चात महिलाहरूले समाज र परिवारमा निर्वाह गर्नुपर्ने भूमिकाबारे महत्त्वपूर्ण धारणा सार्वजनिक गरेकी छिन् ।
चौधरीको भनाइ अनुसार, बुहारी बनेपछि महिलाले आफ्नो सीप र कलालाई चुलो-चौकाभित्र मात्र सीमित राख्नु हुँदैन, बरु त्यसलाई फराकिलो क्षितिजतर्फ लैजानु पर्छ । दुहवी, सुनसरीकी प्रतिस्पर्धी रईसा चौधरीले विवाहपछिको महिलाको भूमिकालाई जिम्मेवारी र नेतृत्वका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘बुहारी भैसकेपछि सबैलाई समेटेर अगाडि लैजानु पर्ने कर्तव्य हुन्छ ।’
उनका अनुसार, परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्नो कला र सीपलाई घरभित्रको चुला चौकाभित्र मात्र सीमित राख्ने गरेका छन् । यस प्रवृत्तिलाई तोड्दै उनले महिलाहरूलाई आफ्नो प्रतिभालाई समाजमा चिनाउन आग्रह गरिन् । केही साताअघि सम्पन्न ट्यालेन्ट राउन्डमा आफ्नै जातीय थारु कल्चर झल्किने गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर रईसाले आफ्नो कला र संस्कार प्रतिको मोह झल्काएकी छन् ।

आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठले केही समयदेखि नेपालमा आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै समस्या परिरहेको जानकारी दिएका छन् । यद्यपि, दुई चरणको (डिजिटल र फिजिकल) अडिसन पार गरेर ११ जना प्रतिस्पर्धी फाइनलमा पुगिसकेका छन् ।
@parikalanewsofficial
प्रतियोगिताको फाइनलमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर छन् ।
फाइनलअघि उनीहरूलाई र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सीपमा प्रशिक्षण दिइएको छ, जसको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन् । विवाहित महिलाहरूको यो सौन्दर्य प्रतियोगिता, जसले उचाइ वा मोटाइको कुनै सीमा तोकेको छैन । यसको ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमै हुने आयोजकले जानकारी दिएको छ । विजेताले १ लाख बराबरको पुरस्कारसहित अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् ।















Discussion about this post