इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य, प्रतिभा र बौद्धिकताको मञ्चको रुपमा स्थापित हुँदै गइरहेको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करण अब निर्णायक घडीमा आइपुगेको छ । यस प्रतियोगिताको फाइनल प्रतिष्पर्धी मेघा खड्काले महिलाको क्षमता र स्वतन्त्रताको पक्षमा सशक्त आवाज उठाएकी छन् । मेघाले विवाहलाई महिलाको जीवनमा आउने ‘नयाँ अध्याय’ को रूपमा व्याख्या गर्दै महिला सशक्तिकरणका लागि प्रेरणादायी सन्देश दिएकी छिन् ।
सानैदेखि आफूमा भएको कलालाई मञ्चमा प्रदर्शन गर्ने ठूलो रहर बोकेकी मेघाले विवाहपछि पनि सो अवसरलाई निरन्तरता दिएको बताएकी छन् । उनको भनाईमा, ‘विवाह कुनै छोरीमान्छेको जीवनको पूर्णविराम नभएर नयाँ अध्याय हो ।’ उनले विवाह गरेर बसेका हरेक महिलालाई आफ्नो इच्छा र चाहना नमार्न आग्रह गर्दै थपिन्, ‘विवाह पछि पनि हामीले केहि गर्न सक्छौं । हामी छोरी मान्छेले चाह्यौं भने जे पनि गर्न सक्छौं र आत्मनिर्भर हुन सक्छौं ।’
सौन्दर्यबारे आफ्नो दृष्टिकोण प्रकट गर्दै मेघाले यसलाई बाहिरी आवरणसँग मात्र नजोडी ‘मनभित्रको भावना’ सँग जोडेकी छिन् । सामाजिक क्षेत्रमा योगदान दिने विषयमा पनि उनी स्पष्ट छिन् । उनको भनाइ छ, ‘पछाडिएका महिला तथा अनाथ बालबालिकालाई सहयोग गर्न हामी महिलाहरुले संस्था खोलेर पनि अगाडि बढ्न सक्छौं ।’ केही साताअघि सम्पन्न ट्यालेन्ट राउन्डमा राष्ट्रिय भावना झल्किने गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर मेघाले आफ्नो प्रतिभा देखाइसकेकी छन् ।
@parikalanewsofficial
‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणले सौन्दर्य प्रदर्शनका साथै महिला सशक्तिकरणलाई पनि मुख्य उद्देश्य बनाएको आयोजकले जनाएको छ । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यो प्रतियोगितामा अहिले ११ जना प्रतिस्पर्धीहरू उपाधिका लागि भिड्दै छन् । आयोजक संस्थाका सञ्चालक सरोज श्रेष्ठले केही समयदेखि देशमा आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै कठिनाइ भइरहेको जानकारी दिएका छन् ।

दुई चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर फाइनलमा पुग्ने प्रतिस्पर्धीहरूमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर रहेका छन् ।
प्रतिस्पर्धीहरूलाई हाल र्याम्प वाक, बोल्ने कला र महिला सशक्तिकरणसम्बन्धी बौद्धिक सिप सहित विभिन्न विधामा शुभेक्षा कार्कीको कोरियोग्राफीमा प्रशिक्षण दिइएको छ । विवाहित महिलाहरूलाई लक्षित यो प्रतियोगितामा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमै आयोजना हुनेछ, जहाँ विजेताले १ लाख बराबरको पुरस्कार सहित अन्य आकर्षक उपहारहरू प्राप्त गर्नेछन् ।















Discussion about this post