ईटहरी/ नेपालको पछिल्ला राजनीतिक तथा सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै प्रतीक्षित नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । सुरुमा भाद्र २७ गते रिलिज गर्ने तयारीमा रहेको यो फिल्म जेनजी आन्दोलनका कारण असोज १३ गते सारिएको थियो । तर, सो बेला रिलिज हुने अन्य फिल्म युनिटको सल्लाह अनुसार सो मितिबाट पनि सारेर असोज २४ गते पुर्याईएको थियो ।
अब भने बाढी पहिरोले देशमा आएको विषम परिस्थितिका कारणलाई ध्यानमा राख्दै फेरि कार्तिक २१ गते (नोभेम्बर ७) लाई नयाँ रिलिज मिति तोकेको छ । सो मितिमा नेपालसहित विश्वभरका हलहरूमा यो फिल्म एकसाथ प्रदर्शन हुने भएको छ । निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत नयाँ मितिको घोषणा गर्दै दर्शकको सहजता र सुरक्षित वातावरणमा फिल्म हेर्ने अवसर सुनिश्चित गर्न यो निर्णय गरिएको बताए ।
उनले प्रतिकूल अवस्थाबीच पनि दर्शकको साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन् । फिल्मलाई नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकलाई समेत लक्षित गर्दै निर्माण गरिएको हो । नेपाली र हिन्दी दुवै भाषामा तयार फिल्म नेपाल, भारत र अन्य देशहरूमा एकै मितिमा रिलिज गरिनेछ, जसले नेपाली फिल्मलाई विश्व मञ्चमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल प्रमुख भूमिकामा छन् ।
@parikalanewsofficial
निर्देशन सुशान्त गौतमले गरेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । कथा मुकेश खनालले लेखेका हुन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह-निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् भने लाइन प्रोड्युसर जीवन शाक्य हुन् । प्राविधिक पक्षमा शरद महतो डिओपी, मनोज श्रेष्ठ भिएफएक्स, जुनिम गहतराज रंग संयोजन र मदन घिमिरे सम्पादनकामा रहेका छन् ।















Discussion about this post