इटहरी/ हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘बलिदान’का विषयमा उठेको बक्स अफिस कलेक्सन विवादप्रति वितरक कम्पनी कुबेर सिने डिस्ट्रीब्युटर्सका संचालक पुष्कर घिमिरेले यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । हाल केही समूहले फिल्मको टिकट आफैं निर्माण युनिटले किनेको भन्ने हल्ला फैलाएकोबारे घिमिरेले आपत्ति जनाएका छन् । उनका अनुसार विभिन्न संस्था (जस्तै इनगो, स्काउट, लायन्स, जेसीआई) बाट हलमा टिकट खरिद गर्न आउने प्रचलन पुरानै हो, त्यसलाई ‘बलिदान’ विरुद्ध प्रयोग गर्नु भ्रामक कार्य हो ।
उनले पछिल्लो ३६ घण्टामा देखिएको हल्ला र आन्दोलनलाई फिल्म उद्योगमा नकारात्मक असर पार्ने कार्यका रूपमा व्याख्या गर्दै भने, ‘गत वर्ष दशैंमा करिब ४५ करोडको कारोबार भएको थियो, तर यसपटक परिस्थिती फरक छ । निशुल्क टिकट बाँडेर हलमा फिल्म हेर्ने संस्कृतिले उद्योग नै धराशायी हुन्छ, यसलाई सबैले बुझ्न जरुरी छ।’
घिमिरेले ‘बलिदान’को वास्तविक बक्स अफिस तथ्याङ्क पनि प्रस्तुत गरेका छन् । उनका अनुसार बलिदानले पहिलो दिन ९५ लाख रुपैयाँ (९५%), दोस्रो दिन ७२ लाख रुपैयाँ (९९%) र तेस्रो दिन बिहान १०:३५ बजेसम्म २१ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । यस्तै, उनले फिल्म विकास बोर्डको आधिकारिक रिपोर्टबारे पनि प्रश्न उठाएका छन् ।
@parikalanewsofficial
उनका अनुसार, बोर्ड अध्यक्षले आधा रातमा १००% तथ्याङ्क उपलब्ध नभएको अवस्थामा ‘बलिदान’को ५७ लाख ग्रस रिपोर्ट हतारमा सार्वजनिक गरेका थिए, जुन वास्तविकतासँग मेल खाँदैन । घिमिरेले अरु फिल्मलाई कमजोर देखाएर ‘बलिदान’माथि मात्र प्रश्न उठाइएकोप्रति असन्तुष्टि जनाएका छन् । उनका अनुसार यसलाई “जिओ–पोलिटिक्स” भन्न सकिन्छ ।
फिल्म हेर्ने दर्शक तथा शुभचिन्तकहरुलाई लक्षित गर्दै उनले भनेका छन्, ‘कृपया कसैलाई पागल वा हेटर्स नबनाऔं । सानो बजेटको फिल्ममाथि हल्ला फैलाएर उद्योगलाई अरबौं घाटा खेप्न बाध्य पार्ने खेल बन्द गर्नुपर्छ ।’ अन्त्यमा घिमिरेले दशैंको अवसरमा सबै फिल्मलाई दर्शकले साथ दिनुपर्नेमा जोड दिँदै भन्छन्, “शान्त रहौं, सबैको फिल्म चल्छ । ‘सक्छु’ भनेर अरूलाई दबाउन नखोजौं, आफैं सक्किनुपर्ने स्थिति आउन सक्छ ।”














Discussion about this post