इटहरी/ तिहारको छेको पारेर भाइटिकाको रौनकसँगै कार्तिक ६ गतेदेखि सार्वजनिकको तयारीमा रहेको नेपाली फिल्म ‘सोल्टिनी’ निर्माण युनिटले आफ्नो शीर्ष गीत ‘दाजुको साली’ सार्वजनिक गरेको छ । फिल्मको गीत मंगलबार बडादसैंको महाअष्टमीका दिन युट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक एस.डी. योगीको स्वरमा रहेको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ ।
गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् भने यो गीतको भिडियोमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा देखिएका छन् । साथै सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको पनि अभिनय रहेको छ । ग्रामीण परिवेशमा आधारित यस गीतले प्रेमको रोमाञ्चकता र जीवनशैलीको रमाइलोपन झल्काउँछ ।
यसअघि सार्वजनिक गरिएको टिजर र चार पोस्टरमार्फत यो फिल्मले प्रेम, संस्कृति र सामाजिक सङ्घर्षलाई प्रस्तुत गरिसकेको थियो । फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश र परीक्षासँगै सोल्टिनी फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ । विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् । हेर्नुस् भिडियो ।
इलाम, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको यस फिल्ममा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध सशक्त सन्देश रहेको निर्देशक सुवेदीले बताएका छन् । दुई प्रमुख पात्रबीचको प्रेमकथा नै फिल्मको मूल आकर्षण हुने बताइएको छ । ‘सोल्टिनी’को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् भने कथा-पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन् ।
फिल्मलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका छन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् । पोस्टर तथा प्रचार–प्रसार डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले तयार पारेका हुन् । नेपालभर फिल्मको वितरण टी फल्क्स फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । शीर्षक गीत सार्वजनिकसँगै निर्माण पक्षले फिल्मको प्रचार–प्रसारलाई थप गतिशील बनाउने जनाएको छ ।
@parikalanewsofficial














Discussion about this post