इटहरी/ नेपाली दर्शकमाझ चर्को प्रतिक्षामा रहेको फिल्म ‘बलिदान’ दशैंको फूलपाती अर्थात् सोमबारदेखि प्रदर्शनमा आउँदैछ । यसैबीच, फिल्मको नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ, जसले फिल्मप्रतिको उत्साहलाई झन् बढाएको छ । सुजन चापागाईँको सङ्गीतमा तयार यो गीतमा सुजन र भुषण खतिवडाको स्वर तथा हर्क साउदको शब्द रहेको छ ।
घना जङ्गलबीचको आदिवासी बस्तीमा चित्रित गीतमा अभिनेता समीर भट्टले नृत्य र अभिनय प्रस्तुत गरेका छन् । भिडियोमा कोरियोग्राफर सुनिल क्षेत्री र निर्देशक सन्तोष सेन समेत देखिएका छन्, जहाँ सेनले फिल्ममै आदिवासी मुखियाको भूमिका निर्वाह गरेका छन् ।
यसअघि, फिल्म ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ । सन्तोष सेन निर्देशित यस फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय छ । हेर्नुस् भिडियो ।
निर्माण पक्षका अनुसार, ‘बलिदान’ले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने अनुमान छ । अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको चासो र उत्साह उच्च स्तरमा पुगेको देखिएको छ ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको फिल्मको निर्माण पवन ब्राडफोर्ड बिस्टले गरेका हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । दसैँलाई लक्षित गरी रिलिज हुन लागेको ‘बलिदान’लाई पारिवारिक मनोरञ्जनको प्रमुख आकर्षणको रूपमा हेरिएको छ ।
@parikalanewsofficial














Discussion about this post