इटहरी/ फिल्म रिलिजभन्दा अघि नै गीत हिट हुने कमै हुन्छ, तर नेपाली फिल्म ‘कुमारी’ले त्यो सम्भावना देखाइसकेको छ । फिल्म घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ अहिले टिकटक र युट्युबमा एकै साथ छाएको छ । गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको यो लाइभ भर्सनले युवापुस्तामाझ तहल्का मच्चाइरहेको छ ।
हालसम्म यस गीतमा डेढ लाखभन्दा बढी टिकटक बनेका छन् भने ५ लाख ५० हजारभन्दा बढी युट्युब भ्युज हासिल भइसकेका छन् । विशेषगरी ‘जेन-जी’ पुस्ताले यसलाई ट्रेन्डिङ बनाउन ठूलो भूमिका खेलेका छन् । फिल्म रिलिजसँगै यसको मात्र स्टुडियो भर्सन सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
निर्देशक दिनेश राउतले फिल्मको हालसम्म ५० प्रतिशत छायाङ्कन पूरा भएको बताए । गीतको अप्रत्याशित सफलताले टिमलाई अझ आत्मविश्वासी बनाएको उनको भनाइ छ । यसअघि काठमाडौंको टुँडिखेलमा भव्य रूपमा घोषणा कार्यक्रम गरिएकामा मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरिएको थियो । दुवैले यसै फिल्ममार्फत प्रमुख भूमिकामा डेब्यु गर्दैछन् । हेर्नुस् भिडियो ।
फिल्ममा उनीहरुसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकार पनि देखिनेछन् । फिल्मको निर्माण बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा भइरहेको छ भने निर्माता महेन्द्र अधिकारी हुन् । स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् र छायाङ्कन सुसन प्रजापतिले गरिरहेका छन् ।
‘कुमारी’मा जम्मा चारवटा गीत रहनेछन्, जसमा सबै गीतमा स्वर गायक लिम्बुले नै दिनेछन् । सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटी रहनेछ भने शब्दमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेका गीत रहनेछन् । निर्माण पक्षले यो फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने योजना बनाएको छ ।
@parikalanewsofficial















Discussion about this post