इटहरी/ फिल्म ‘हरिबहादुरको जुत्ता’ लाई सेन्सर बोर्डले ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । सेन्सर बोर्डका सदस्यहरु फिल्मको क्लाइमेक्स हेरेर भावुक बनेका थिए र हाँसोसँगै आँसु पनि ल्याउने खालको फिल्म रहेको प्रतिक्रिया दिएका छन् । दसैँको फूलपाती अर्थात् यहि असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् ।
फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत र प्रियंका कार्की जस्ता चर्चित कलाकारहरुका साथै हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेल लगायत कलाकारहरुको पनि अभिनय छ । फिल्मको ट्रेलर तथा गीतले दर्शकको ध्यान केन्द्रित गरेको छ । अझ यो फिल्मको दर्शक तान्ने अस्त्र भनेको टेलिभिजनको पर्दामा चर्चित बनेको ‘हरिबहादुर’ पात्रलाई यो फिल्मको मुख्य पात्र बनाईएको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘हरिबहादुरको जुत्ता’लाई सरोज ओली र मोहितवंश आचार्यले मिलेर बनाएका हुन् । फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादनको जिम्मेवारी नकुल खड्काले सम्हालेका छन् । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ । यसमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको सुमधुर स्वर सुन्न सकिन्छ ।
@parikalanewsofficial














Discussion about this post