इटहरी/ वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ पोस्टरसँगै फिल्मका अन्य २ प्रमुख कलाकारहरु महेश त्रिपाठी र अञ्जना बराइलीलाई फिचर्ड गर्दै २ पोष्टर सार्वजनिक गरेर फिल्म ‘परान’ युनिटले प्रचारप्रसारलाई प्रारम्भ गरेको छ । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित यो फिल्मको निर शाह फिचर्ड पोस्टर सोमबार सार्वजनिक गरिएको हो, जसमा नीर शाहले सङ्ख फुकिरहेको दृश्य देखाइएको छ ।
यसअघि महेश त्रिपाठी र अञ्जना बराइलीलाई समावेश गरिएको पोस्टर सार्वजनीक गरिएको थियो । जहाँ केही संकोचमा देखिएका महेशको अँगालोमा अञ्जना रोमान्टिक मुडमा रहेको देखिन्छ । यस पटक भने शाह मात्रलाई अगाडि सारिएको छ । ‘सासले होइन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहित आएको पोस्टरले फिल्मको मूल सन्देश सम्बन्ध र साथको महत्त्वमा आधारित रहेको संकेत गरेको छ ।
साथै, नीर शाहको प्रस्तुतिले कथामा धर्म, संस्कृति वा परम्परागत अनुष्ठानसँग जोडिएको पाटो महत्त्वपूर्ण रहने अड्कलबाजीलाई थप बल दिएको छ । गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको ‘परान’ बाइस्कोपको पहिलो प्रोजेक्ट हो । फिल्मको कथा निर्देशक आचार्य स्वयंले लेखेका हुन् भने पटकथा र संवाद यम थापाले तयार पारेका छन् ।

फिल्ममा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराइलीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन् । यो फिल्म आउँदो कार्तिक १४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

@parikalanewsofficial














Discussion about this post