इटहरी/ बडादशैंको घटस्थापनाको दिन विशेष उपहारसहित फिल्म ‘जेरी अन टप’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको ‘कस्तूरी’ बोलको गीत अनन्या फिल्मस्ले सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । रोमान्टिक धुन र आकर्षक दृश्यसँग सजिएको गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माको जोडी फिचर्ड छ । मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा कोरियोग्राफर किरण थापाले अनमोल र आँचललाई प्रेमिल ‘लभ वर्ड्स’का रूपमा प्रस्तुत गरेका छन् ।
भिडियोमा उनीहरूको केमेस्ट्री निकै प्रभावशाली देखिन्छ । आशिष गुवाजु र सदिक्षा कट्टेलले स्वर दिएको यो गीतमा संगीतकार तथा गीतकार जयन जे वाइबाले संगीत भरेका छन् । वाइबाकै साउण्ड डिजाइन रहेको गीतलाई अशोक थानेतले मिक्सिङ र मास्टरिङ गरेका हुन् । सुयोग गुरुङको निर्देशनमा बनेको ‘जेरी अन टप’मा अनमोल-आँचलसँगै जसीता गुरुङ, हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी र उषा खड्गीको पनि प्रमुख भूमिका छ । अभिनेत्री सुरक्षा पन्त विशेष भूमिकामा प्रस्तुत हुँदैछिन् । हेर्नुस गीतको भिडियो ।
फिल्म सरोज न्यौपानेको प्रस्तुति हो भने निर्माणमा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको सहभागिता छ । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ छन् भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता रहेका छन् । ‘जेरी अन टप’को कथा हेमराज बिसीले लेखेका हुन् । पटकथा विश्वास तिम्सिनाले तयार गरेका छन् भने छायांकन दुलिप रेग्मीले गरेका हुन् । संगीतमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठका कम्पोजिसन समावेश छन् । रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यो फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा विकसित हुने प्रेमकथामा आधारित छ ।
@parikalanewsofficial














Discussion about this post