इटहरी/ निर्माणाधीन नेपाली फिल्म ‘महादशा’ मा उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा देखिने भएका छन् । यो जोडीको आगमनका कारण फिल्मले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । लामो समयपछि लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंह एकसाथ पर्दामा देखिन लागेका हुन् । ‘महादशा’को निर्माण टोलीले हालै एक भेट मार्फत दुवैलाई मुख्य कलाकारका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो ।
उत्तम र निरुता दुवैलाई नेपाली फिल्म उद्योगमा स्थापित र अनुभवी कलाकारका रूपमा हेरिन्छ । पछिल्लो समयमा फिल्म उद्योगले सामना गरिरहेका विभिन्न चुनौतीहरूका बीच यी दुई अनुभवी कलाकारको सहभागिताले दर्शकहरूलाई पुनः फिल्म हलसम्म तान्न सहयोग गर्ने विश्वास गरिएको छ ।

किरण नेपालीको निर्देशनमा बन्ने यस फिल्ममा समाजका विभिन्न पाटा र जीवनका उतारचढावलाई गहिराइपूर्वक चित्रण गरिनेछ । लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । मनिष गौतमको कथा रहेको यस फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् । यसका कार्यकारी निर्माता सुरज आचार्य हुन् ।
@parikalanewsofficial














Discussion about this post