इटहरी/ नेपाली फिल्मका लागि चाडपर्वले निकै महत्त्व राख्छ । त्यसमा पनि दशैँ र तिहारका बेला फिल्म रिलिजको घम्साघम्सी नै चल्ने गरेको छ । गएको वर्ष भन्दा यो वर्ष अझै धेरै प्रतिष्पर्धा देखिएको छ । यसै क्रममा तिहारको भाइटीकालाई अवसर पारेर सार्वजनिक हुने फिल्म ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचारलाई बिस्तारै व्यापक बनाउने तयारीमा छ । यो फिल्म सँग एकै मितिमा सोल्टिनी फिल्म रिलिज हुँदैछ भने त्यसको भोलिपल्ट अर्थात् कार्तिक ७ गते मैझारो रिलिज हुने तयारीमा छ ।
यतिबेला यो फिल्म ‘वरिष्ठ बलराम’को दुईवटा पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरहरूले दर्शकमाझ फिल्मको कथावस्तुबारे उत्सुकता जगाएको छ । पहिलो पोष्टरमा फिल्मका मुख्य पात्रहरूलाई देखाइएको छ, जसमा दयाहाङ राई र विजय बरालको प्रमुखता छ । यसमा उनीहरूका साथै समृद्धि अर्याल लगायत अन्य कलाकारहरू पनि बाइकमा कसैलाई पछ्याइरहेको देखिन्छ । यस पोष्टरमा दयाहाङलाई केही गहिरो सोचमा र विजयलाई केही रिसाएको मुद्रामा प्रस्तुत गरिएको छ भने समृद्धि हाँसिरहेकी छन् ।

दोस्रो पोष्टरले फिल्मको थप गहिराइ देखाउँछ । यसमा दयाहाङ र विजय एकअर्कासँग प्रतिस्पर्धा गरिरहेको देखाइएको छ । पृष्ठभूमिमा राजमार्ग र टिपरहरू देखिने भएकाले यो कथा ठेक्कापट्टा वा यस्तै कुनै व्यावसायिक संघर्षमा आधारित हुनसक्ने अनुमान गर्न सकिन्छ । यो पोष्टरले उनीहरू दुईबीच आफ्नो अस्तित्व प्रमाणित गर्नको लागि चलिरहेको कडा प्रतिस्पर्धालाई प्रस्ट पार्छ ।

निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्मको कथा पनि उनैले लेखेका हुन् र यसको सम्पादन पनि उनैले गरेका छन् । महेश दवाडीले यसको पटकथा लेखेका छन् ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालका साथै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
@parikalanewsofficial
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मलाई आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन् ।
चितवनका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन मानकृष्ण महर्जनले गरेका हुन् । यसमा प्रशान्त शिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ । यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।














Discussion about this post