इटहरी/ यही आउने दशैंको फूलपातीलाई लक्षित गर्दै प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अभिमन्यु’बाट यसका वितरक कम्पनी कुबेर सिने डिस्ट्रिब्युटर अलग्गिएको छ । यसअघि भदौ २७ गते रिलिज हुने तय भए पनि जेन-जी आन्दोलनका कारण स्थगित भएको ‘अभिमन्यु’लाई पुनः असोज १३ गते सार्वजनिक गर्ने निर्णय निर्माताबाट भएपछि वितरक आपसी सहमतिमै अलग्गिएको हो ।
कुबेरले काठमाडौं बाहिर ‘अभिमन्यु’को वितरण जिम्मा लिएको थियो तर त्यही मितिमा वितरक कम्पनीकै अर्को फिल्म ‘बलिदान’पनि रहेकोले दुबै फिल्म एउटै दिन वितरण नगर्ने व्यावसायिक निर्णय लिँदै अलग भएको कुबेर सिने डिस्ट्रिब्युटरका पुष्कर घिमिरेले जानकारी दिएका छन् ।
उनले भने, “फूलपातीको दिन हाम्रो पहिलेको निर्णयअनुसार ‘बलिदान’ आउँदैछ । एउटै दिन दुई फिल्म वितरण गर्नु हाम्रो व्यवसायिक मर्यादासँग मेल खाँदैन, त्यसैले शुभकामना दिंदै ‘अभिमन्यु’बाट छुटिएको हौं ।” साथै उनले उद्योगकै हितलाई जोड दिँदै “निर्माताको अथक मिहिनेत र लगानीले बनेका फिल्मलाई सफलताको शुभकामना छ । एउटै मितिमा धेरै फिल्म आउँदा हुने सम्भावित जोखिमलाई सबैले गम्भीरतापूर्वक विचार गर्नुपर्छ,” भनेका छन् ।
@parikalanewsofficial
उता, ‘अभिमन्यु’का निर्माता विनोद पौडेलले भने सो मितिमा भिड्नका लागि नभई बाध्यताका कारण असोज १३ गते रिलिज गर्नुपरेको स्पष्ट पारेका छन् । उनका अनुसार, अभिमन्युको प्रचार-प्रसारका सामग्री सकिएको र तिहारपछि अर्को फिल्म ‘रोल नम्बर १’ को पोस्ट-प्रोडक्सनमा जुट्नुपर्ने भएकाले ढिला नगरी दशैंमा रिलिज गर्नुपर्ने वाध्यता आइपरेको हो । उनले सो मितिमा आउने ‘माईतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’लाई शुभकामना पनि दिएका छन् ।














Discussion about this post