जेनजी आन्दोलनका कारण सेभेन सिज सिनेमाले निर्माण गरेको प्रतिक्षित फिल्म ‘अभिमन्यु’ अब असोज १३ गते अर्थात दशैँको फूलपातीको दिनदेखि नेपाली भाषामा र असोज १६ गते अर्थात विजयादशमीको दिनदेखि हिन्दी भाषामा देशभर तथा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।
यसअघि भदौ २७ गतेलाई रिलिज मिति तोकिए पनि देशको संवेदनशील अवस्थाका कारण निर्धारित मितिभन्दा चार दिनअघि नै प्रदर्शन स्थगित गर्नुपरेको निर्माण पक्षले जनाएको छ । अब यो फिल्म असोज १३ गते आउने भएपछि सो मितिमा ४ ओटा नेपाली फिल्म एकसाथ प्रदर्शन हुने भएको छ । यसअघी नै सो मितिमा माईतीघर, बलिदान र हरिबहादुर को जुत्ता फिल्मले आफ्नो रिलिज लक गरिसकेको छ ।
अभिमन्यु फिल्म टिमले ती ३ फिल्म निर्माण टिमसमक्ष क्षमायाचना गरेको छ । सार्वजनीक विज्ञप्तिमा भनिएको छ, “हाम्रो कुनै पनि टिमसँग जुधाउने वा प्रतिस्पर्धा गर्ने नियत कहिल्यै पनि थिएन । परिस्थिति नै यस्तो बन्यो । अब सबै निर्माण टिमले आ-आफ्नो फिल्मलाई दर्शकसामु पु-याउने क्रममा हामीलाई पनि सह-यात्रीका रूपमा लिनुहोस भन्ने हार्दिक आग्रह गर्दछौं ।”

लामो छलफलपछि नयाँ मिति तोकिएको कम्पनीले जनाएको छ । धेरैपछि सार्न पनि सम्भव नभएको र धेरै अघि ल्याउन पनि परिस्थिति अनुसार मिल्दो नभएकाले अन्ततः असोज १३ गतेलाई रिलिज मिति तय गरिएको निर्माण कम्पनी सेभेन सिज सिनेमाका सञ्चालक विनोद पौडेलले प्रष्ट पारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “सिनेमाको यो साझा माहोललाई हामी सबै मिलेर उत्सवजस्तै बनाएर दर्शकलाई मनोरञ्जन दिने हाम्रो विश्वास छ । हामी कुनै टिमसँग भिड्न आएका होइनौं ।” कम्पनीले दर्शकप्रति कृतज्ञता व्यक्त गर्दै, “हामी विश्वास गर्छौं, यस पटक पनि दर्शकको माया, समर्थन र प्रोत्साहन यथावत रहनेछ । तपाईँहरूको धैर्य र समर्पणका लागि हामी हार्दिक आभारी छौं,” भनेको छ । बुझिएअनुसार सेभेनसिज सिनेमाको अर्को फिल्म ‘रोल नम्बर १’ को काम तिहार लगत्तै सुरु हुँदैछ । त्यसैले अभिमान्युलाई यो बेला रिलिज गर्नै पर्ने बाध्यात्मक परिस्थिति आएको हो ।














Discussion about this post