इटहरी/ जेनजी आन्दोलनपश्चात् नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै सुस्ताएको नेपाली फिल्म उद्योग फेरि सक्रिय बन्दै गएको छ । यसैबीच, दशैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माईतीघर’ ले पनि आफ्नो प्रचार-प्रसारमा तिव्र गतिमा अगाडि बढाउने भएको छ । निर्माता रोहित अधिकारीका अनुसार फिल्म पूर्व निर्धारित मितिमै प्रदर्शन हुने छ ।
आन्दोलनका कारण उनले केही दिनअघि स्थगित गरिएको फिल्मको टाइटल गीतमा आधारित ५ लाख नगद पुरस्कार राशि भएको भिडियो प्रतियोगिता भोलिदेखि पुनः सुरु हुने जानकारी दिएका छन् । साथै, आउँदो हप्तामा एक औपचारिक समारोहमार्फत फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ ।
उनका अनुसार, “ट्रेलर एकदमै सरल, रमाइलो, सामाजिक र पारिवारिक बनेको छ । ट्रेलर सार्वजनिक भएपछि सबैले मन पराउने अपेक्षा गरेका छौं,” उनले भने । यो फिल्ममा केदार प्रसाद घिमिरे (माग्नेबुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापालगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
@parikalanewsofficial
चन्द्रकुमार दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवादमा बनेको ‘माईतीघर’मा रबिन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका छन् । दशैँको उत्सवलाई पारिवारिक मनोरञ्जनसँग जोड्ने लक्ष्यसहित निर्माण टिमले दर्शकलाई हलसम्म तान्ने तयारी गरेको देखिन्छ ।














Discussion about this post