इटहरी/ अभिनेता सौगात मल्लले आफ्नो नाम र व्यक्तिगत सामग्री प्रयोग गर्न बनाइएको नक्कली फेसबुक खाता मार्फत फिल्म बलिदानको प्रचार गरिएको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो कार्यको विरोध गरेका हुन् । उनले सो कार्यबारे निर्देशक सन्तोष सेन र नेपाल प्रहरी साइबर ब्यूरोलाई ध्यानाकर्षण गराउँदै दोषीविरुद्ध कानुनी कारबाही गर्न चेतावनी दिएका छन् ।
उनले सार्वजनिक गरेको फेसबुक एकाउन्टमा न्यू अफिसियल एकाउन्ट भनेर लेखिएको छ, जसले गर्दा सो एकाउन्ट सौगात मल्लको भएको भन्ने भ्रम पैदा हुन्छ । मल्लका अनुसार सो एकाउन्टमा उनका व्यक्तिगत फेसबुक पेजबाट फोटो र भिडियो डाउनलोड गरी त्यहा पोस्ट गरिएको छ । त्यसमा बलिदान सम्बन्धी सामग्री धेरै मात्रामा पोस्ट गरेको देखिन्छ ।
उनले आफ्नो आधिकारिक फेसबुक पेज बाहेक अन्य कुनै फेसबुक अकाउन्ट नभएको स्पष्ट गर्दै सो कार्यबारे न त आफू, न त आफ्नो टिम, न त बलिदान फिल्मको टिमलाई जानकारी रहेको बताए । “यो कार्य मेरो मात्र होइन, फिल्म बलिदानको छविमा समेत नकारात्मक असर पार्ने प्रयास हो । म यसको घोर निन्दा र बहिष्कार गर्दछु,” मल्लले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

उनले जसले सो नक्कली खाता बनाएको हो त्यो तुरुन्त हटाउन भनेका छन्, “यदि खाता हटाइएन भने म स्वयं सहित बलिदानको टिम कानुनी रुपमा अघि बढ्नेछौं ।” भनेर लेखेका छन् । साथै, आम प्रयोगकर्तालाई उक्त नक्कली खाता रिपोर्ट गर्न र शेयर गरेर सचेत गराउन समेत अनुरोध गरेका छन् । मल्लले नक्कली खाता बनाउने व्यक्तिलाई तत्काल आफू वा बलिदान फिल्मको टिमसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
@parikalanewsofficial














Discussion about this post