इटहरी/ देशभर चर्किँएको जेनजी आन्दोलन, सरकारी संरचनाको दुःखद क्षति र त्यसपछिको राजनीतिक अस्थिरताले नेपाली फिल्म उद्योगलाई पनि गम्भीर असर पार्न थालेको छ । यतिबेला नयाँ अन्तरिम सरकार बन्नलाई समेत ढिलाई भइरहेको अवस्था छ । आन्दोलनको प्रत्यक्ष र अप्रत्यक्ष दबाबका कारण एकपछि अर्को फिल्मको प्रदर्शन स्थगित हुँदै गएको छ ।
देशभरका फिल्म हलहरु पनि बन्द अवस्थामा छ । त्यसैले प्रदर्शन भइरहेका फिल्महरू पनि रोकिएका छन् । यस्तै आज भाद्र २७ गतेबाट सार्वजनीक प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु’ को प्रदर्शन केही दिनअघि नै निर्माण कम्पनीले एक विज्ञप्ति सार्वजनीक गर्दै स्थगन गरिएको थियो । अहिले संविधान दिवसको अवसर पारेर असोज ३ गते रिलिज हुने तय गरिएको प्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन पनि स्थगित गरिएको छ ।
फिल्मका निर्माता रामबाबु गुरुङले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन गर्न असम्भव भएको बताएका छन् । फिल्म क्षेत्रका विज्ञहरूको भनाइमा अहिलेको अस्थिर वातावरणले केवल प्रदर्शन तालिकामात्रै होइन, सम्पूर्ण फिल्म बजारलाई नै प्रभावित गर्न सक्छ । विशेषगरी दशैंको फूलपातिमा रिलिजको तयारीमा रहेका अन्य ठूला फिल्महरू पनि अनिश्चितताको अवस्थामा पुगेका छन् ।
@parikalanewsofficial
दशैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने ३ बहुप्रतीक्षित फिल्म माईतीघर, बलिदान र हरिबहादुरको जुत्ता को प्रदर्शन पनि अन्योलमा छ । यी फिल्मका निर्माता तथा निर्देशकहरू पर्ख र हेर को अवस्थामा छन् । सो बेलासम्म स्थिति सामान्य हुने नहुने टुंगो छैन । त्यसैले करोडौं लगानीमा बनेका फिल्महरूको प्रदर्शन धकेलिनू र अन्यौल रहनु दुःखदायी हो । हुन त देशभर सार्वजनिक सम्पति, सरकारी कार्यालय मा आगजनी भएपछि ठूलो क्षति देशले भोगिरहेको अवस्था छ ।














Discussion about this post