इटहरी/ सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् । यस्तै सेलेब्रेटीहरुले पनि यो अभियानमा समर्थन गरिरहेका छन् । लोकप्रिय अभिनेता अनमोल केसीले “हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं।” भन्दै यो अभियानमा समर्थन जनाएका छन् ।
सरकारले हाल प्रतिबन्ध गरेको फेसबुकमा एक पोस्ट राख्दै उनले “सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं ।” भन्दै “हाम्रो अधिकार कोही रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन।” भनेर लेखेका छन् । यता अर्का लोकप्रिय अभिनेता पल शाहले पनि यो अभियानमा समर्थन जनाएका छन् ।
उनले पनि प्रतिबन्धित फेसबुकमै एक स्ट्याटस लेख्दै नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पार्दै गरेको बताएका छन् । उनले “गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेका छन्, उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ ।” भन्दै सरकार प्रति असन्तुष्टी व्यक्त गरेका छन् । यस्तै उनले स्ट्याटसमा “यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको छ । हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं ।” भनेर लेखेका छन् ।
@parikalanewsofficial
उनले भोलि सेप्टेम्बर ८ मा हुने जेनजी आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस् भन्दै “तसर्थ भोलि ८ सेप्टेम्बरमा Gen Z द्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस्। जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित । जय नेपाल ” भनेर पोस्ट गरेका छन् । यी २ अभिनेतासँगै नेपाली फिल्म उद्योगका अन्य फिल्मकर्मीहरुले पनि समर्थन जनाएका छन् ।














Discussion about this post