इटहरी/ आगामी तिहारको अवसर पारेर भाइटीका अर्थात् कार्तिक ६ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’ युनिटले फस्टलुक पोस्टर र टिजर सार्वजनीक गर्दै आफ्नो प्रचार यात्रालाई प्रारम्भ गरेको छ । निर्देशक सुरेन्द्र पौडेल निर्देशित यस फिल्मको ३ वटा पोस्टर एकैपटक सार्वजनिक गरिएको छ, जसले कथा र पात्रबारे थप जिज्ञासा सिर्जना गरेको छ ।
पहिलो पोस्टरमा दयाहाङ राई रातो सुटमा क्रुद्ध मुद्रामा देखिएका छन् भने विजय बराल निराश मुद्रामा प्रस्तुत छन् । दोस्रो पोस्टरमा भने दुवै सोचमग्न मुद्रामा देखिएका छन् र साथमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी पनि क्यारेक्टर लुकमा समावेश छन् । अर्को पोष्टरमा भने दया र विजय घम्साघम्सी गरिरहेको देखिन्छ ।
यस्तै सार्वजनिक टिजरमा दयाहाङ र विजयबीचको नोकझोकलाई देखाइएको छ, जसले कथावस्तुप्रति उत्सुकता बढाएको छ । फिल्मले सामाजिक पृष्ठभूमि उठाउने संकेत दिँदै पनि कथा भने अझै गोप्य राखिएको छ । फिल्मको सार्वजनिक टिजरले दया र विजय बीच वरिष्ठ को हो भन्ने कौतुहलता सिर्जना गरेको छ । ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरिसकेका पौडेलको यो चौथो निर्देशकीय प्रस्तुति हो । हेर्नुस् टिजर ।
वृषभ सिद्धि इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्यमा बनेको फिल्ममा आशिष एच. तामाङ र श्रीराज कार्की निर्माताको रूपमा छन् भने कार्यकारी निर्मातामा प्रदीप जि. धामी र पुस्कर बि. घिमिरे छन् । चितवनका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत समावेश छ । यस्तै, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ । फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनमार्फत प्रदर्शनमा आउनेछ ।



@parikalanewsofficial














Discussion about this post