इटहरी/ यही आउँदो दशैंलाई लक्षित गर्दै रिलिज तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ ले नयाँ गीत सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ आशिस अविरल र मेलिना राईको स्वरमा तयार भएको हो । दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत रहेको यस गीतलाई लोक र फिल्मी फ्लेभर मिसाएर प्रस्तुत गरिएको छ ।
किरण थापाको कोरियोग्राफीमा बनेको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्काले धमाकेदार प्रस्तुति दिएका छन् । भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । यसअघि सार्वजनिक ‘बेला बितेसी’ बोलको गीतले युट्युबमा २० लाखभन्दा बढी भ्युज र २ लाखभन्दा बढी टिकटक भिडियो बटुलेको थियो, जसले फिल्मप्रति दर्शकको उत्साह झल्काएको छ । हेर्नुस् भिडियो ।
दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्मका गीतमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईका स्वर समावेश छन् । दशैंको फूलपाती (असोज १३) बाट रिलिज हुने यो फिल्मलाई दर्शकले विशेष चासोका साथ प्रतीक्षा गरिरहेका छन् ।














Discussion about this post