इटहरी/ प्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रचार–प्रसार अभियान कोशी प्रदेशबाट औपचारिक रूपमा सुरू भएको छ । कोशी प्रदेशको प्रमुख केन्द्र मानिने इटहरीस्थित ईलाइट सिनेमा हलमा सोमबार साँझ ५ बजेदेखि आयोजित पत्रकार सम्मेलन तथा अतिथि भेटघाट कार्यक्रममार्फत प्रचार अभियानलाई सुरुवात गरिने भएको हो । कार्यक्रममा फिल्मका प्रमुख कलाकार कामेश्वर चौरसिया, किरण श्रेष्ठ लगायतको उपस्थिति रहने भएको छ ।
पत्रकार र आगन्तुक अतिथिसँगको अन्तरक्रिया इटहरी पश्चात देशका अन्य प्रमुख शहरहरुमा गरिने फिल्मका निर्माता विनोद पौडेलले जानकारी गराए । निर्माता पौडेलका अनुसार, इटहरीपछि फिल्मको टोली भदौ १७ गते जनकपुर, १८ गते वीरगन्ज र हेटौडा, १९ गते चितवन हुँदै काठमाण्डौं पुग्नेछ । यसरी चरणबद्ध रूपमा दर्शकमाझ पुग्ने योजना बनाइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन् । पैसाको प्रलोभन, अपहरण र संघर्षलाई कथाको मूल आधार बनाइएको यसमा प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने घटनालाई प्रस्तुत गरिएको छ । हालै सार्वजनिक ट्रेलरमार्फत घरबारबिहीन युवाले पैसाको लागि गरेका अवैध गतिविधि, समाजमा पैसाप्रतिको गिद्धे दृष्टि र त्यसकै परिणामस्वरूप पात्रले भोग्ने संघर्षलाई देखाइएको छ ।
@parikalanewsofficial
कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको ‘अभिमन्यु’ अपराध र पैसाको चक्रव्यूहमा फस्ने पात्रको कथा भन्ने उद्देश्यले तयार गरिएको हो । यो फिल्म नेपालमा यही भदौ २७ गते रिलिज हुँदैछ भने यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज गरिने भएको छ ।
मुकेश खनालको लेखनमा बनेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकका रूपमा छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । फिल्ममा जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डिओपी, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन र मदन घिमिरे सम्पादनमा रहेका छन् ।














Discussion about this post