इटहरी/ नेपाली लघु फिल्म ‘रिहाना’ले आफ्नो ऐतिहासिक यात्रा गर्दै यस वर्षको ३०औँ संस्करणको दक्षिण कोरियामा आयोजना हुने विश्वप्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गर्ने भएको छ । यस प्रतिष्ठित महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली फिल्मको रूपमा छनोट भएको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर पाएको हो ।
फेस्टिभलको आधिकारिक जानकारीअनुसार, ‘रिहाना’ को विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ । यस पटक महोत्सवमा ३,०५९ वटा फिल्म प्रस्तुत गरिएका थिए, जसमध्ये उत्कृष्ट १० भित्र पर्न ‘रिहाना’ सफल भएको हो । निर्माता केदार भुसालले यो अवसरलाई नेपाली कथाहरूलाई विश्वसामु पुर्याउने महत्वपूर्ण उपलब्धि भन्दै उत्साह व्यक्त गरेका छन् ।

उनका अनुसार, “नेपालका मौलिक कथाहरूलाई फरक शैलीमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो प्रयासलाई बुसान छनोटले नयाँ हौसला दिएको छ।” ‘अ दुम्सी पिक्चर्स’को ब्यानरमा बनेको यो फिल्म मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमसँगको सहकार्यमा तयार भएको हो । सुरज पौडेलले लेखन तथा निर्देशन गरेको यस फिल्ममा पृथु भट्ट र सृजना अधिकारी मुख्य भूमिकामा देखिनेछन् ।
@parikalanewsofficial
निर्माता टोलीमा उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसाल रहेका छन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको भूमिकामा छिन् । फिल्ममा शिशिर विशंखेको छायाङ्कन, गौरव कुमार मुल्लिकको सम्पादन, डिकेश खड्गी शाहीको साउन्ड डिजाइन, राम लाल खड्काको प्रोडक्सन डिजाइन र मदन श्रेष्ठको कास्टिङ निर्देशन रहेको छ । सह–लेखनमा शैलेश आरसी (एलएसएम) पनि संलग्न छन् ।
बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई एसियाली फिल्मको प्रमुख मञ्चका रूपमा चिनिन्छ, जसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ । नयाँ निर्देशक, मौलिक कथा र फरक शैलीलाई विश्वसामु चिनाउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा ‘रिहाना’को सहभागिताले नेपालको अन्तर्राष्ट्रिय उपस्थिति थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।














Discussion about this post