इटहरी/ नेपाली फिल्म उद्योगमा फेरि एक नयाँ प्रेमकथा थपिने भएको छ । चर्चित निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’को घोषणा गर्दै काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरे । सोही अवसरमा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो भने मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले रौनक थपेको थियो । केहरले यस फिल्मबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै फिल्मको पहिलो गीत ‘कहाँ छौ’ पनि प्रस्तुत गरे । निर्देशक राउतले यसअघि ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका थिए भने ‘नोभेम्बर रेन’, ‘क्लासिक’, साथै सामाजिक विषयमा आधारित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

दर्शकको चाहनाअनुसार फेरि प्रेमकथामा फर्किएको उनले बताए । फिल्म ‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेम को सहकार्य रहनेछ । निर्माता महेन्द्र अधिकारी, कथा विकास सुवेदी । अबिशेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको अभिनय यो फिल्ममा रहनेछ ।
@parikalanewsofficial
सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, प्रशान्त सिवाकोटीले तयार पार्नेछन् भने सबै गीतमा स्वर केहरले दिनेछन् । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र फोटोग्राफी राजभाई सुवालले गर्नेछन् । छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ भने निर्माण टिमले यसै वर्ष फिल्म प्रदर्शन गर्ने योजना रहेको जनाएको छ । सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने फिल्ममा केदार भुसाल कार्यकारी निर्माता रहेका छन् । डिजिटल वितरण मोशन पिक्चर्स, काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन् ।














Discussion about this post