इटहरी/ पछिल्लो समय नेपाली फिल्म क्षेत्रले एकपछि अर्को नयाँ फिल्म घोषणा र प्रदर्शन मिति तयले दर्शकलाई उत्साहित बनाइरहेको छ । यही क्रममा अञ्जान सिनेमा प्रोडक्सन हाउसले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘शिवांश : च्याप्टर-१’ लाई कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको छ ।
यस घोषणासँगै निर्माण पक्षले एक विशेष पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा कैलाश पर्वततर्फ उक्लिँदै गरेका जटाधारी शिव र उनको वाहन साँढेको निधारमा त्रिशूल अंकित गरिएको छ । प्रतीकात्मक यो दृश्यले कथासँग गहिरो सम्बन्ध जनाए पनि फिल्मसँग यसको प्रत्यक्ष अर्थ भने हाललाई गोप्य राखिएको छ ।

पोखरा आसपासका रमणीय स्थानमा छायांकन गरिएको ‘शिवांश’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । यो फिल्म मार्फत निर्देशक सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गर्न लागेका छन् भने कथा स्वयं निर्माता अञ्जान केसीले लेखेका हुन् । पटकथा बारत लिम्बू र स्क्रिप्ट डक्टर सुलक्षण भारतीबाट तयार भएको छ ।
फिल्मको मुख्य भूमिकामा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने देखिनेछन् भने यसमा विकास जोशी, विमला लिम्बू, सबिर चुरौटे, टीका निरौला, उदय सुब्बा लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मलाई प्राविधिक दृष्टिले सशक्त बनाउन मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी, विराज खड्काको भीएफएक्स सुपरभिजन र आदेश सुब्बा (गुडरेज पिक्चर्स)को भीएफएक्स प्रोडक्सन जोडिएको छ ।
@parikalanewsofficial
यो फिल्मको संगीतमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी, स्वरमा राजनराज, मिलन नेवार र समीक्षा अधिकारी रहेका छन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता सम्भू थापा छन् । पोस्ट–प्रोडक्सनको काम चलचित्र चौतारीले गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (DCN) मार्फत हुनेछ ।














Discussion about this post