इटहरी/ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले आफ्नो प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । असार २७ बाट प्रदर्शनमा आएको यस फिल्मको सफलता बालाजुस्थित अष्टनारायण हलमा विशेष समारोहमार्फत मनाइयो । कार्यक्रमका क्रममा केक काट्दै टिमले दर्शकप्रति आभार व्यक्त गर्यो । निर्माता तथा अभिनेता रोशन श्रेष्ठले फिल्मको ५१ दिनको यात्रा कुनै कृत्रिम प्रचारबिना दर्शकको स्वतःस्फूर्त साथले सम्भव भएको बताए ।
उनका अनुसार, “दर्शकले आफ्नै इच्छाले टिकट काटेर फिल्म हेरेका छन्, चर्चा कम भए पनि ५१ दिन पुगेकोमा निकै खुसी छौं।” सो समारोहमा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रबिन्द्र खड्का लगायतका वरिष्ठ कलाकार तथा फिल्मकर्मीहरूको उपस्थिति थियो । टिमले संचारकर्मी र अतिथिलाई मायाको चिनो समेत प्रदान गर्यो । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ ।

ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मलाई ज्ञानबहादुर प्रधान र रोशन श्रेष्ठले निर्माण गरेका हुन् भने कथा–निर्देशन मित्र प्रधानको र पटकथा–संवाद शिवम अधिकारीको रहेको छ । हाल यो फिल्म अमेरिकाका विभिन्न शहरमा पनि प्रदर्शन भइरहेको छ । यसै अवसरमा निर्माण टिमले नयाँ फिल्म ‘स्वाहा:’ निर्माणको घोषणा समेत गर्यो ।
@parikalanewsofficial
एक पोस्टर सार्वजनिक गर्दै टिमले करिब ४ करोडको लगानीमा हिमाली भेगको कथामा आधारित फिल्म बनाउन लागेको जानकारी दिए । मित्र प्रधानले यसलाई निर्देशन र निर्माण गर्नेछन् भने पटकथा–संवाद पुनः शिवम अधिकारीकै रहनेछ । चलचित्रमा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिने छन् भने अन्य कलाकारबारे चाँडै जानकारी गराइने टिमले जनाएको छ ।














Discussion about this post