इटहरी/ नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक कार्यक्रमको प्रश्न विवाद यतिबेला चर्चामा छ । सो कार्यक्रममा एक महिला युट्युबरले कलाकारहरूलाई “नचलेका” भन्ने शब्द प्रयोग गर्दै प्रश्न उठाएपछि त्यहाँ उपस्थित फिल्मका मुख्य कलाकारले असन्तुष्टि जनाए । कलाकारहरूको भनाइमा यस्तो प्रश्नले उनीहरूको मेहनत र योगदानलाई बेवास्ता गरेको मात्र होइन, मनोबलमा समेत चोट पुर्याएको छ ।
कलाकारप्रतिको सो टिप्पणीले वातावरण असहज बनेपछि, निर्माता विनोद पौडेलले सोही बेला पनि आपत्ति जनाएका थिए । अशोभनीय प्रश्नले कलाकारको मनोबल गिर्छ, त्यसैले त्यस्ता प्रश्नको प्रतिकार गर्नुपर्ने र कसैको लहै लहैमा गरिने यो किसिमको हर्कतले पक्कै राम्रो सन्देश नजाने उनको धारणा छ । उनका अनुसार कलाकारहरुले यस विषयमा आफूलाई चित्त दुखेको कुरा बताएपछि फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाले औपचारिक विज्ञप्ति जारी गर्दै सम्पूर्ण कलाकारसँग माफी माग्यो ।

विज्ञप्तिमा भनिएको छ– “नेपाली चलचित्रका कलाकारहरूले गरेको योगदानको मूल्य अपार छ । असावधानीपूर्वक प्रयोग भएका शब्दले कलाकारको मान–सम्मानमा चोट पुर्याएकोप्रति हामी दुःख प्रकट गर्दछौं र सम्पूर्ण कलाकारसँग हार्दिक माफी चाहन्छौं।” निर्माता पौडेलले फिल्म क्षेत्रका कलाकार, साहित्यकार, निर्देशक र सिर्जनशील व्यक्तिहरूलाई समाज र संस्कृतिको धरोहर बताउँदै, कलाकारलाई सम्मान गर्नु सम्पूर्ण व्यक्ति, समाज र संस्थाको दायित्व भएको जोड दिएका छन् ।
@parikalanewsofficial
यस घटनाले फेरि एउटा बहस सिर्जना गरेको छ कि नेपाली फिल्म क्षेत्रका मेहनती तथा सङ्घर्षसील मात्र हैन लामो समयदेखि सहायक भूमिका गरेर दर्शकको नजरमा परिसकेका कलाकारलाई सोधिने प्रश्न र प्रश्नकर्ता कत्तिको जिम्मेवार र संवेदनशील हुनुपर्छ ? विवादसँगै यता अभिमन्युको ट्रेलरले भने सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । ट्रेलरमा प्रस्तुत गरिएको कथावस्तु–प्रेम, अपहरण, रहस्य र संघर्षका घटनाक्रमले फिल्मप्रतिको उत्सुकता बढाएको छ । यो फिल्म यही भाद्र २७ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।














Discussion about this post