इटहरी/ प्रतिक्षाको केन्द्रमा रहेको नेपाली फिल्म ‘सोल्टिनी’ अब कार्तिक ६ गते तिहारमा भाइटीकाको अवसर पारेर दर्शकमाझ आउने पक्का भएको छ । यसअघि यो फिल्म संविधान दिवसको अवसर पारेर कार्तिक ३ गते सार्वजनिक प्रदर्शनमा आउने तय गरिएको थियो, तर सो मितिमा जारी २ आउने भएपछि सोल्टिनी निर्माण युनिटले आज शुक्रबार ५ पोष्टर सार्वजनिक गर्दै कार्तिक ६ गतेलाई आफ्नो रिलिज मिति लक गरेको हो ।
प्रकाश सपुत र परीक्षा लिम्बु प्रमुख भूमिकामा रहेको यो फिल्मको विशेष पक्ष भनेको कार्यकारी निर्माताको रूपमा सामाजिक अभियानमै परिचित ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ को संलग्नता हो । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको समूहको यो फिल्ममा सहभागिता दर्शकमाझ निकै चासोको विषय बनेको छ ।

अर्जुन सुवेदी निर्देशित ‘सोल्टिनी’मा सपुत र लिम्बुसहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा जस्ता कलाकारहरूको अभिनय रहने छ । सार्वजनिक पोस्टरहरूले कथाको विविधता संकेत गरेका छन्-कहीं नायक-नायिकाको रोमान्टिक रूप, कहीं परीक्षाको परम्परागत भेषभूषा त कहीं गाउँको पुलपार गर्ने रमाइलो दृश्य ।
@parikalanewsofficial
सार्वजनीक एउटा सामूहिक पोस्टरले त लोकसंस्कृति, नाचगान र हास्य–मनोरञ्जनको आभास समेत दिने प्रयास गरेको छ । निर्देशक सुवेदीका अनुसार, ‘सोल्टिनी’ले जातीय विभेद र अमानवीयताविरुद्ध आवाज उठाउने छ । त्यहीबीच दुई पात्रबीचको गहिरो प्रेमकथाले दर्शकलाई भावनात्मक रूपमा छुन सक्ने अपेक्षा गरिएको छ । फिल्मको छायाङ्कन इलाम, कन्याम, बिब्ल्याँटे, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा गरिएको हो ।

फिल्मका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ भने सुशन प्रजापतिले छायाङ्कन गरेका छन् । यो फिल्मको कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन् । ‘सोल्टिनी’लाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् । पोस्टर र पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् । नेपालमा वितरण टि फल्क्स फिल्म्सले गर्ने छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।
















Discussion about this post