इटहरी/ नेपाली फिल्म इतिहासमा एउटा फरक कथा बोकेको फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ भोलि शुक्रबार बाट देशभर प्रदर्शनमा आउँदैछ । यसअघि नै हलहरूले प्रि–बुकिङ खुल्ला गरेका छन् र फिल्मलाई सन्तोषजनक शो मिलेको छ । काठमाडौंका मल्टिप्लेक्सहरूमा मात्र क्यूएफएक्सले पहिलो दिनका लागि १४ शो दिएको छ, जुन संख्या दर्शकको चासोअनुसार अझै बढ्न सक्ने सम्भावना निर्माण पक्षले जनाएको छ ।
यता कोशी प्रदेशका धरान, इटहरी, बिराटनगर, दमक र विर्तामोडका प्रमुख मानिएका हलहरुमा पहिलो दिन १३ शो पाएको छ । अन्य नेपाली फिल्महरू ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’ पनि रिलिज भइरहेका बेला यसलाई पाएको शोलाई राम्रो अवसरका रूपमा लिइएको छ ।

समुन्द्र भट्ट निर्देशित फिल्ममा अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को चुनौतीपूर्ण भूमिका निर्वाह गरेका छन् । उनका साथै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्वपूर्ण अभिनय देख्न सकिन्छ । यो फिल्मलाई विशेष बनाउन अन्तर्राष्ट्रिय स्तरको प्राविधिक तयारी गरिएको छ । सम्पूर्ण पोस्ट-प्रोडक्सन (एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन, ब्याकग्राउन्ड म्युजिक) विदेशमै हलिउड शैलीमा गरिएको छ ।
@parikalanewsofficial
हलिउडकी गायिका लिजा जेरार्ड ले स्वर दिएकी छिन् भने संगीतकार मार्सेलो दी फ्रान्सिसीले ब्याकग्राउन्ड स्कोर तयार गरेका छन् । फिल्मलाई अमेरिकास्थित बफेलो एट्लेले अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरिसकेको छ । यसले नेपालमै पहिलो पटक ट्रान्स-कथामा बनेको पूर्ण फिल्मलाई विश्व बजारमा पुर्याउने बाटो खोल्ने अपेक्षा गरिएको छ ।
आकाश बुढाथोकी र भि–भन्से जानुबोन को लगानीमा बनेको फिल्मका कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहेका छन् भने अनुपम श्रेष्ठ सह–निर्माताका रूपमा जोडिएका छन् । आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीका गीत सुन्न सकिन्छ । अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केट मा छनोट भइसकेको ‘गुन्यु चोलो : द ड्रेस’ ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने अपेक्षा लिइएको छ ।














Discussion about this post