इटहरी/ नेपाली फिल्ममा फेरि एक सामाजिक बहस उठाउने तयारीका साथ निर्देशक अर्जुन सुवेदीले विधवा महिलाको जीवनसंघर्षलाई केन्द्रविन्दुमा राखेर नयाँ फिल्म ‘कन्यादान’ बनाउने घोषणा गरेका छन् । यसअघि ‘रङ्गेली’ निर्देशन गरेका र चाँडै रिलिजमा आउन लागेको ‘सोल्टिनी’का निर्देशक सुवेदीले यसपटक अझ संवेदनशील कथा पर्दामा उतार्ने तयारी गरेका हुन् ।
उनका अनुसार फिल्मको मूल सन्देश “हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ” भन्ने रहेको छ । समाजका कठोर परम्परा र मान्यतालाई चुनौती दिंदै, पुनः प्रेम र जीवन जिउने अधिकारलाई कथा-वस्तुको केन्द्रमा राखिएको छ । कुमार भट्टराई र सुवेदी स्वयंले लेखेको यो फिल्मलाई आगामी वर्ष रिलिज गर्ने योजना निर्माण टीमको छ ।

प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्ट सहनिर्माताका रूपमा रहनेछन् । फिल्ममा रेजिना बिस्ट प्रस्तुतकर्ता, मार्टिन ओली कार्यकारी निर्माता, सुसन प्रजापति छायांकन, प्रशान्त सिवाकोटी सङ्गीतकार, सुजन खतिवडा प्रोजेक्ट हेड, रोयल भीमसेन पोस्टर तथा पब्लिसिटी डिजाइनर र ओएसआर डिजिटल डिजिटल वितरणकर्ताको भूमिकामा रहनेछन् ।
@parikalanewsofficial
‘कन्यादान’ नाममा यसअघि पनि फिल्म बनेका भए पनि सुवेदीले ल्याउन लागेको संस्करण भने पूर्णतया नयाँ कथा र दृष्टिकोणमा आधारित हुने बताइएको छ । सार्वजनिक गरिएको पोस्टर पनि प्रतीकात्मक डिजाइनमा तयार पारिएको छ जसमा देखाइएको महिलाको छायाचित्रले विधवाले भोग्ने मौन पीडा र पुनः जीवनको चाहनालाई प्रकट गरेको छ ।














Discussion about this post