इटहरी/ नेपाली फिल्मकी चर्चित अभिनेत्री पुजा शर्माले पाँच वर्षअघिको एउटा अन्तर्वार्तालाई जीवनकै कठिन क्षणका रूपमा स्मरण गरेकी छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले पत्रकार प्रकाश सुवेदीसँग त्यो बेला भएको अन्तर्वार्ता आफ्नो लागि “कालो दिन” भएको भन्दै त्यसले लामो समयसम्म मानसिक पीडा दिएको खुलाएकी छन् ।
फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारी चलिरहेका बेला सुवेदीले लिएको अन्तर्वार्तामा आफूले तनावका कारण सही जवाफ दिन नसकेको पूजाले बताइन् । “त्यो समयमा सम्पूर्ण लगानी फिल्ममै थियो, तर लकडाउन पर्यो । त्यसैबीच अन्तर्वार्ता गर्न पुगेँ । प्रश्नको उत्तर थाहा हुँदाहुँदै पनि तनावका कारण गलत जवाफ दिएँ,” उनले भनिन् ।
उनका अनुसार, सामान्य गल्तीलाई पत्रकारले ठूलो बनाएर प्रस्तुत गरेपछि आफूलाई “केही पनि नजान्ने” जस्तो देखाइयो । “त्यो ठूलो कुरा थिएन तर उहाँले मलाई त्यस्तो शैलीमा प्रस्तुत गर्नुभयो कि मेरो मोरल नै डाउन भयो । त्यो दिन मेरो लागि साँच्चिकै कालो दिन थियो । त्यस्तो ठाउँमा फेरि कहिल्यै जानु नपरोस् भन्ने लाग्छ,” उनले पीडा सुनाइन् ।
@parikalanewsofficial
सो अन्तर्वार्तापछि पूजा सामाजिक सञ्जालमा व्यापक आलोचना र ट्रोलिङको शिकार समेत भएकी थिइन् । कतिले उनलाई अभिनय मात्र जान्ने तर ज्ञान नभएको कलाकार भनेर व्यंग्य गरे भने केहीले पत्रकारिताको शैली नै प्रश्नवाचक रहेको प्रतिक्रिया जनाएका थिए । यो विवाद चर्किएपछि चलचित्र कलाकार संघ, निर्माता संघ, एपीवान टेलिभिजन, नृत्यकार संघलगायतका संघसंस्थाको मध्यस्थतामा दुवै पक्षबीच मिलाप भएको थियो ।
दुवैले लिखित सहमति गर्दै भविष्यमा एकअर्कालाई गालीगलौज नगर्ने, पेशागत मर्यादा र आचारसंहिता पालना गर्ने वाचा गरेका थिए । पत्रकार प्रकाश सुवेदीले पनि पछि शब्द चयनमा गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका थिए । तर पूजा शर्माले सो माफीलाई “हलुका रूपमा लिइएको” भन्दै त्यतिबेला असन्तुष्टि प्रकट गरेकी थिइन् । पाँच वर्ष बितिसक्दा पनि त्यो अनुभव अझै पनि मनमा गहिरो पीडासहित बाँकी रहेको पूजाले हालको अन्तर्वार्तामा प्रष्ट पारिन् ।















Discussion about this post