इटहरी/ नेपाली फिल्म उद्योगमा परिचित निर्देशक लक्ष्मण रिजाल करिब आठ वर्षपछि पुनः निर्देशनमा फर्किएका छन् । उनको कमब्याक प्रोजेक्टको रूपमा तयार हुँदै गरेको फिल्म ‘काजी’ को शुक्रबार दक्षिणकाली मन्दिरमा भव्यतापूर्वक शुभमुहूर्त सम्पन्न गरिएको छ । क्यामेरा तथा स्क्रिप्ट पूजा पश्चात् निर्माण टिम सिधै स्याङ्जा छायांकनका लागि प्रस्थान गरेको छ ।
निर्देशक रिजालका अनुसार भदौ ८ गते आइतबारदेखि छायांकन सुरु हुनेछ । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ जस्ता फिल्म निर्देशन गरेका थिए भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’ को निर्माणमा समेत संलग्न रहिसकेका छन् । आफ्नो मनपर्ने स्क्रिप्ट हात परेको कारण उनले यसपटक पुनः निर्देशनमा फर्किने निर्णय गरेको बताएका छन् ।

आरएण्डआर प्रोडक्सनको व्यानरमा बन्ने यो सामाजिक प्रेमकथामा राम प्रसाद रिजाल निर्माता रहेका छन् । उनले अघिल्ला फिल्ममा देखिएका कमजोरी सच्याउँदै ‘काजी’लाई उत्कृष्ट बनाउन प्रयास गर्ने बताएका छन् । छायांकनका लागि स्याङ्जामा लाखौँ खर्च गरेर गाउँको सेट निर्माण गरिएको पनि उनले जानकारी दिए ।
@parikalanewsofficial
फिल्ममा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा प्रमुख भूमिकामा देखिनेछन् भने अन्य कलाकारहरूको नाम क्रमशः सार्वजनिक गरिने बताइएको छ । प्रदीप भारद्धाजले यो फिल्मको कथा लेखेका हुन् भने चिन्तनराज भण्डारीले छायांकन गर्नेछन् । गीत–संगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् । यसैगरी, फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मा लिएको छ ।















Discussion about this post