इटहरी/ आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २’को सहकार्यमा गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ ल्याउने भएका छन् । भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट सुरू हुने यो सांगीतिक यात्रामा ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।
झुमा लिम्बु र उनको व्याण्डले यस अभियान अन्तर्गत नेपालका १० सहरमा सांगीतिक प्रस्तुति दिनेछन् । प्रत्येक प्रस्तुतीमा शोलो कन्सर्टसँगै स्थानीय कला–संस्कृति र मौलिक गीत–संगीतलाई विशेष प्राथमिकता दिइने बताइएको छ । हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीजस्ता परम्परागत संगीत र नृत्यलाई केन्द्रमा राख्दै कार्यक्रम अघि बढाइनेछ ।
@parikalanewsofficial
गायिका लिम्बुले यस यात्रालाई सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने अभियानका रूपमा लिएको बताउँदै, “लोकसंगीत केवल मनोरञ्जन मात्र नभई हाम्रो जीवनशैली, इतिहास र एकताको प्रतिविम्ब हो । रैथाने घुमफिरले गाउँ र सहरको संस्कृति जोड्ने पुल बन्नेछ ।” भनिन् ।
यसपटकको संस्करण नेपालमै सीमित भए पनि आगामी वर्षदेखि यसलाई विदेशसम्म विस्तार गर्ने योजना रहेको छ । हरेक कार्यक्रम स्थानीय कलाकार र वाद्यवादनको सहभागितामा विविधता प्रदर्शन गरिने जनाइएको छ । रैथाने घुमफिरका अन्य कार्यक्रम विस्तारै सार्वजनिक गरिनेछन् ।















Discussion about this post