इटहरी/ प्रतिक्षित नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते देखि देशभरका फिल्म हलमा प्रदर्शन हुँदैछ । हालै सेन्सर बोर्डबाट ‘यू’ (Universal) सर्टिफिकेट प्राप्त गरेको छ । अब यस फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र दिएको हो । २ घण्टा २३ मिनेटको रहेको यस फिल्मले आफ्नो नाममा रहेको रहस्यमय ‘जनै’को कथाले दर्शकको उत्सुकता बढाएको छ ।
‘पूर्णबहादुरको सारंगी’ को सफलतापछि अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको यस फिल्ममा उनलाई केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, शुशांक मैनाली, भोलाराज सापकोटा लगायतका चर्चित कलाकारले साथ दिएका छन् । फिल्ममा कलाकारहरूको भूमिका र उनीहरूको एक-अर्कासँगको सम्बन्धबारे निर्माण पक्षले अझैसम्म केही खुलाएको छैन, जसले गर्दा दर्शकमा कौतुहलता झन् बढेको छ ।

विशेषगरी फिल्मको नाममा रहेको ‘जनै’ कसको हो र कसरी हराउँछ भन्ने प्रश्न अनुत्तरित नै छ । विजय बराल र शुशांक मैनालीको भूमिकालाई जनैसँग जोडेर हेरिए पनि यसको वास्तविक कथा के हो भन्ने जान्नका लागि दर्शकले फिल्म प्रदर्शन हुने दिनसम्म कुर्नुपर्नेछ । आर्य र मंगोलियन पृष्ठभूमिका कलाकारहरूबीचको सम्बन्धले पनि फिल्मको कथालाई थप रोचक बनाएको छ ।
@parikalanewsofficial
पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माताहरूमा कमल न्यौपाने र विमल न्यौपाने छन् । यसैगरी, कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
यसमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ । नवीन गुरुङले फिल्मको छायांकन गरेका छन् भने कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । फिल्मको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ । यो फिल्मले नेपाली फिल्म जगतमा नयाँ कथावस्तु र बलियो अभिनयको छाप छोड्ने विश्वास गरिएको छ।















Discussion about this post